
तिमीहरुजस्तै साना बाबुको कथा हो यो । उनको नाम, कौटिल्य पण्डित । उमेर- ५ वर्ष । भारतको हरियाणा राज्यको कोहान्द गाउँमा बसोबास गरिरहेका उनलाई कौटिल्य होइन अहिले 'गुगल ब्वाई' भन्न थालिएको छ । किन होला ? तिमीहरूलाई जिज्ञासा उठ्न सक्छ ।
गुगल एक सर्च इन्जिन हो । हामीलाई थाहा नभएका कति कुराहरू गुगलमा सर्च गरेपछि फेला पार्न सकिन्छ । त्यस्तै, कौटिल्य पनि गुगलजस्तै छन् रे । उनी एकपटक देखेको एवं सुनेको कुरा फटाफट भन्न सक्दा रहेछन् ।
तीक्ष्ण बुद्धिका धनी कौटिल्यसँग सामन्य ज्ञानको भण्डार नै छ । उनलाई जे सोध्यो, त्यसको सही जवाफ क्षणभरमै दिन सक्छन् । यसै वर्ष उनी आफ्ना आमाबुबासँग भारतकै आगरा भन्ने स्थान घुम्न गएछन् । घुम्ने क्रममा देखिएका साइनबोर्डहरुमा केके लेखिएको थियो, त्यो सबै कुरा घर फर्केपछि हुबहु सुनाएछन् । त्यति मात्र होइन उनले आफ्ना शिक्षकसामु विश्वका सबै महाद्वीप, महासागर, देश र त्यसको राजधानीका बारेमा सबै कुरा जस्ताको तस्तै भनेछन् । कौटिल्यको यो असाधारण क्षमता देखेर सबै चकित भएछन् र उनको नाम नै 'गुगल ब्वाई' राखिदिएछन् ।


No comments:
Post a Comment