उमाको स्मृतिमा विविध कार्यक्रम - मिथला दर्सन !
Headlines News :
Home » » उमाको स्मृतिमा विविध कार्यक्रम

उमाको स्मृतिमा विविध कार्यक्रम

Written By Unknown on Sunday, 12 January 2014 | 21:17



प्रथम महिला सहिद पत्रकार उमा सिंहको पांचौ स्मृति दिवस विविध कार्यक्रमका साथ मनाइएको छ । स्मृति दिवसको अवसरमा नेपाल पत्रकार महासंघ धनुषा शाखाले दिप प्रज्जलन कार्यक्रम गरेको छ । महासंघका सभापति रामअशिष यादवको अध्यक्षतामा आयोजित दिप प्रज्जवलन कार्यक्रममा विभिन्न संचार गृहका पत्रकारहरुको उपस्थििति थियो ।
kashindra-sharma-blood-donation-Uma-singh
यस्तै क्रान्तिकारी पत्रकार संघ धनुषा शाखाले श्रद्धाञ्जली सभाका साथै रक्तदान कार्यक्रमको आयोजना गरी स्मृति दिवश मनाएको छ ।
संघका अध्यक्ष दिपेन्द्र प्रसाद सिंहको अध्यक्षता तथा वरिष्ठ पत्रकार बिएम खनालको प्रमुख आतिथ्यमा नेपाल रेडक्रस सोसाइटीको सभा हलमा आयोजित सभामा वक्ताहरुले उमाको हत्यालाई प्रेरणाको रुपमा लिएर अगाडी बढनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै वरिष्ठ पत्रकार खनालले उमाको हत्यालाई दुःखको क्षणको रुपमा नलिई प्रेरणको रुपमा लिई महिला पत्रकारहरुलाई अगाडी बढनु पर्ने बताए । उमाले समाजको आम परिवर्तनका लागि कलम चलाएकाले सबै पत्रकारहरु एक जुट भएर अगाडी बढनुपर्ने उनको कथन थियो ।
यस्तै नेपाल पत्रकार महासंघका सभापति रामअशिष यादवले उमाको हत्याको कारण पारिवारिक मात्र नभई पत्रकारिता समेत भएकाले उनको हत्यालाई प्रेरणाको रुपमा लिन युवा तथा महिलामा आग्रह गरे । उनले पत्रकारिता क्षेत्र जोखिम पुर्ण रहेको उल्लेख गर्दै मिशन पत्रकारिताको आवश्यकता समेत औल्याए ।
तत्कालिन समयको नेपाल पत्रकार महासंघको पहलमा भएको आन्दोलकै कारण हत्याका अधिकांश अभियुक्तलाई प्रहरीले पक्राउ गरी कारवाहीको दायरामा ल्याउन सकेको भन्दै प्रहरी प्रशासन लगायत तत्कालिन समको पत्रकार महासंघको कार्यलाई प्रशंसा गरे ।

कार्यक्रममा एमाओवादीकी सभासद प्रतिक्षा तिवारी मुखियाले महिला पत्रकारको हक, अधिकारका लागि संसदमा आवाज उठाउने प्रतिवद्धता जनाइन । कुनै पत्रकारको मृत्यु भएपनि कलमको मृत्यु हुन नसक्ने उल्लेख गर्दै उनले सबै पत्रकारहरु एक जुट भएर अगाडि बढनुको विकल्प नरहेको बताइन ।
एमाओवादीका जिल्ला इन्चार्ज रामचन्द्र मण्डलले पत्रकार सही र गलत सबै प्रकारको संदेश प्रभाव गर्ने व्यक्ति भएको चर्च गर्दै उमाले पत्रकारिता क्षेत्रमा दिएको योगदान चिर स्मरणीय रहने बताए ।

क्रान्तिकारी पत्रकार संघका सचिव राम एकवाल महराले संचालन गरेको कार्यक्रममा पार्षद अजय झा, क्रान्तिकारी पत्रकार संघका केन्द्रिय सदस्य शैलेन्द्र महतो, मधेशी पत्रकार समाजका केन्द्रिय सचिव आतिश मिश्र, प्रेस युनियनका अध्यक्ष प्रविण साह, प्रेस चौतारीका कार्यवाहक अध्यक्ष शैलेन्द्र झा, क्रान्तिकारी पत्रकार महासंघका अध्यक्ष किरण कर्ण, अनिल मिश्र लगायतले श्रद्धाञ्जली अर्पण गरेका थिए । कार्यक्रममा पत्रकार अजय साहले स्वागत मनतव्य राखेका थिए ।
श्रद्धाञ्जली सभा पश्चात आयोजित रक्तदान कार्यक्रममा सशस्त्र प्रहरी, पत्रकार विद्यार्थी गरी २८ जनाले रक्तदान गरेका थिए ।

महासंघका सभापति रामअशिष यादव, निवर्तमान उपाध्यक्ष अनिल मिश्र, क्रान्तिकारी पत्रकार महासंघका अध्यक्ष किरण कर्ण, डेली एक्सप्रेसका सम्पादक संजीव झा लगायत शैलेन्द्र महतो, राजकमल सिंह, मनिषा खतिवडा, मनिषा झा, संजीव मण्डलले रक्तदान गरेका थिए ।
उमाको अन्तिम समयमा रगत अभावकै कारण मृत्यु भएकाले उनको स्मृतिमा रक्तदानको आयोजना गरेको क्रान्तिकारी पत्रकार संघका अध्यक्ष सिंहले बताएका छन । संघले गत वर्ष पनि श्रद्धाञ्जली सभाका साथै रक्तदान कार्यक्रमको आयोजना गरेको थियो ।

यस्तै रेडियो टुडे तथा जनकपुर टुडे दैनिकका काशिन्द्र कुमार शर्मा, रामहृदय यादव, सरोज यादव र पप्पु पेजरले रक्तदान गरेका थिए भने सशस्त्र सिमा सुरक्षा वल मुजेलियाका प्रहरीहरुमा निलहरी श्रेष्ठ, प्रेम सुवेदी, कमल श्रेष्ठ, केशव प्रसाद बंजली, विष्णु प्रसाद रिजाल, केशव साह ठकुरीले रक्तदान गरेका थिए ।
रेडियो टुडे, जनकपुरधाममा कार्यरत सिंहलाई विसं २०६५ साल पुस २७ गते जनकपुरको रजौल स्थित डेरामा बसेको बेला अज्ञात समूहले धारिलो हतियार प्रहार गरि विभत्स तरिकाले हत्या गरेका थिए ।

उनको हत्यामा संलग्न मुख्य योजनाकार स्वामी यादव भनिने उमेश यादव पक्राउ परी जेल चलान भैसकेको छ । उमाको हत्या भएको करिव ४ वर्ष ८ महिना पछि मुख्य अभियुक्त यादवलाई भदौ ३१ गते सुदुरपश्चिमको कैलाली जिल्लाको धनगढीबाट पक्राउ गरिएको थियो । हत्याको कारक मानिएकी उनकी भाउजु ललिता सिंह र नेमलाल पासवान जम्म कैदको सजाय भोगिरहेका छन् भने माओवादी सम्बद्ध श्रवण यादवले जेलबाट मुक्ति पाइसकेका छन् ।
उनकी दाजु र बुबालाइ माओवादीले अपहरण गरी हत्या गरेका थिए । उनी स्वयम् पनि छोटो समय अपहरणमा परी मुक्त भएकी थिइन् । यता आपराधिक समूहको धम्कीको कारण स्वर्गीय सिंहकी आमा शुसिला देवी सिंह भने पछिल्लो पांच वर्षदेखि घर छोडेर अन्यत्र बिस्थापित भएकी छन् ।
Share this article :

No comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. मिथला दर्सन ! - All Rights Reserved
Template Modify by Creating Website
Proudly powered by Blogger