सन् २०१३ मा आधा दर्जन ठूला व्यवसायिक घरानाले विभिन्न होटलमा साढे २२ अर्ब रुपैयाँ लगानी गर्ने घोषणा गरेका छन् । व्यवसायिक घरानाबीच ‘होटल व्यवसाय’मा लगानीको होडबाजी चलेपछि यसअघि होटलमा लगानी नगरेका ठूला घरानाहरु पनि सन् २०१४ मा होटलमा लगानी गर्ने घोषणा गरेका हुन् ।
घोषणा गरेअनुसार लगानी भए सन् २०१६ को अन्त्यसम्ममा करिव २५ सय कोठा थपिनेछन् । काठमाडौं, पोखरा, चितवन, लुम्बिनी र बिराटनगरमा निर्माण हुने ती होटल बनिसक्दा एकै वर्षमा २० लाख पर्यटक नेपाल आए पनि खान बस्न होटलको अभाव हुने छैन । व्यवसायीहरुले दुई तारेदेखि पाँच तारे होटल र रिसोर्ट निर्माण गर्ने घोषणा गरेका छन् ।

क-कसले कहाँ-कहाँ गर्दैछन् लगानी ?
यसअघि होटलमा लगानी नगरेका चौधरी समूह, मुक्ति श्री प्रा.लि, बैद्य अर्गनाईजेशन, एनआरएन, लक्ष्मी समूह, एनआरएन अध्यक्ष शेष घले, उद्योगी शशिकान्त अग्रवाल, बैंकर पृथ्बीबहादुर पाण्डेलगायतले होटलमा लगानी गर्ने घोषणा गरेका हुन् ।
सन् २०१३ को अन्त्यमा नवोदित व्यवसायिक घराना अजेय सुमार्गीको मुक्ति श्री प्रा.लि.ले राजधानीमा २ अर्ब रुपैयाँ लगानीमा पाँच तारे होटल निर्माण गर्ने घोषणा गरिसकेको छ । विदेशी संयुक्त लगानीमा निर्माण गर्न लागिएको २ सय २० कोठा रहने उक्त होटल सन् २०१६ को अन्त्यसम्ममा सञ्चालनमा ल्याउने घोषणा गरिएको छ ।
नेपालको ठूलो औद्योगिक घराना चौधरी समूहले चितवनको मेघौलीमा ‘जिंक जर्नी चितवन’ नामको साततारे होटल बराबरको सुविधा दिने गरी रिर्सोट निर्माण गरिरहेको छ । चितवन नेसनल पार्कमा गरिने साहसिक जंगल सफारीमा आउने पर्यटकलाई सुविधा दिने उद्देश्यले १८ भिल्ला रहेको रिसोर्ट सन् २०१५ को मध्यसम्ममा सञ्चालनमा आउनेछ ।
गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेले ‘होटल काठमाण्डू’ नामको होटल निर्माणका लागि दरबारमार्गमा १४ रोपनी जग्गा किनिसक्नु भएको छ । अन्तराष्ट्रियस्तरमा चर्चित होटल सेराटनसँगको संयुक्त लगानीमा २ अर्ब ५० करोड रुपैयाँ खर्चिएर २ सय कोठा रहेको होटल बनाइने भएको हो ।
गैरआवासीय नेपाली संघले करिब ४ अर्ब रुपैयाँको लगानीमा नयाँ होटल खोल्ने औपचारिक निर्णय नै गरेको छ । घले संघको अध्यक्ष भएलगत्तै बसेको कार्यसमिति बैठकल पोखरा, विराटनगर वा लुम्बिनीमध्ये एक ठाउँमा कम्तीमा दुई सय कोठा क्षमताको होटल खोल्न काम सुरु गर्ने निर्णय गरेको थियो ।
त्यसैगरी मलिराम शिवकुमार (एमएस) समूहले होटल क्षेत्रमा करिब ६ अर्ब रुपैयाँ लगानी गर्ने घोषणा गरेको छ । नेपाल हस्पिटालिटी ग्रुपको नामबाट यस समूहले होटल क्षेेत्रमा लगानी शुरु गरेको हो । उपत्यकमा दुईवटा पाँचतारे र एउटा चारतारे स्तरका होटलमा यो लगानी गर्ने घोषणा गरेको एमएस समूहले गत जेठदेखि ठमेलमा चारतारे होटल निर्माण गरिरहेको छ ।
मंसिरदेखि नै राजधानीको नक्सालमा एउटा पाँचतारे होटल निर्माण शुरु भएको छ । यी दुई होटल सञ्चालनमा आएपछि भक्तपुरमा पाँच तारे होटल निर्माण गरिने बताइएको छ । एमएस समूहका अनुसार नक्सालमा निर्माण शुरु भएको होटलमा दुई सय ३५ कोठा रहनेछन् भने त्यसको लागत २ अर्ब ५० करोड रुपैयाँ हुनेछ । सन् २०१६ मा सञ्चालनमा ल्याउने बताइएको छ । ठमेलमा निर्माण भइरहेको चारतारे होटलमा १०८ कोठा रहने र यो २०१५ देखि सञ्चालनमा आउने छ ।
सन् १९७० देखि टेक्सटाइल, स्पिनिङ मिल हाउजिङ, साबुनलगायतका उद्योगमा सक्रिय एमएस समूह होटल व्यवसायमा पहिलो पटक लगानी गर्न लागेको हो । यसले होटल व्यवसायमा अमेरिकी होटल चेन मेरिओटसँगको साझेदारी गरेको छ ।
त्यस्तै, बैद्य अर्गनाइजेसनले काठमाडौंस्थित टायोटा कम्पलेक्स भएको स्थानमा १२ देखि १५ रोपनी जग्गामा पाँच तारे होटल बनाउने घोषणा गरेको छ ।
बेगनास र लुम्विनीमा रिसोर्ट शैलीको होटल बनाउन ५० रोपनी जग्गा किनिसकेको छ भने अब ७५ रोपनी जग्गा थप गरी १२५ रोपनी पुर्याउने योजना रहेको बैद्य अर्गनाइजेसनका अध्यक्ष सुरज बैद्यले जानकारी दिनुभयो । ‘आगामी चैतमा नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षबाट विदा लिएपछि होटल तथा पयर्उटन क्षेत्रमा तीब्र रुपमा लगानी गर्ने उहाँले जानकारी दिनुभयो ।
डेरी, कन्फेक्स्नरी उद्योग, अटोमोवाइल व्यापारमा जमेको लक्ष्मी ग्रुपले पनि होटल क्षेत्रमा लगानी गर्ने योजना बनाएको छ । दुई वर्षभित्र पोखरामा रिसोर्ट र काठमाडौंमा चारतारे होटल खोल्ने योजना रहेको समूहका कार्यकारी निर्देशक अन्जन श्रेष्ठले जानकारी दिनुभयो ।
त्यसैगरी अर्को व्यापारिक घराना नेसनल ग्रुप अफ कम्पनिजले विराटनगरमा ७५ करोड रुपैयाँ लगानी गरी पाँचतारे होटल निर्माण गर्ने घोषणा गरेको छ । डेढ विघा जग्गामा ११० कोठाको होटल निर्माण गरिने ग्रुपका अध्यक्ष मोती दुगडले जानकारी दिनुभयो ।
यसैगरी ठमेलमा बैंकर पृथ्वीबहादुर पाण्डेसहित विभिन्न व्यवसायीको लगानीमा चारतारे होटल निर्माणको घोषणा गरिएको छ । छायाँदेवी प्रालिको ४ अर्ब रुपैयाँ लगानीमा बनाउन लागिएको यो होटल २ सय ५० कोठाको हुनेछ । १४ रोपनी क्षेत्रफल रहने पाण्डेले जानकारी दिनुभयो ।
पुराना होटलहरुले पनि आफ्नो क्षमता विस्तार गर्नुका साथै नयाँ लगानी पनि गर्दै आएका छन् । राजधानीको लाजिम्पाटमा एस होटल्स एन्ड रिसोर्ट ग्रुपले २५ करोड रुपैयाँ लगानीमा नयाँ तीनतारे होटल निर्माण सुरु गरिसकेको छ । सन् २०१५ सम्ममा यो होटल सञ्चालनमा ल्याउने समूहका अध्यक्ष योगेन्द्र शाक्यले जानकारी दिनुभयो । अर्कातिर याक एण्ड यति, होटल हिमालयन, द्धारिका, होटल स्नेहलगायत पुराना होटलहरुले पनि क्षमता विस्तार गरिरहेका छन् ।
त्यसैगरी पोखराको तीनतारे होटल बाराहीले चितवनमा ६० कोठायुक्त रिसोर्ट बनाउने घोषणा गरेको छ भने निजी वायुसेवा कम्पनी यती एयरलाइन्सका प्रवर्द्धक ल्हाक्पा सोनाम र आङछिरिङ शेर्पाको यती होलिडेजले पनि चितवनमा ५० देखि ६० कोठाको रिसोर्ट बनाउने घोषणा गरेको छ ।
होटल व्यवसायीका अनुसार पाँचतारे होटलको एउटा कोठा निर्माण गर्दा १ करोड रुपैयाँ खर्च लाग्छ । चारतारेमा ६० देखि ७० लाख र तीनतारेमा एउटा कोठा बनाउँदा ३० लाख रुपैयाँ खर्च लाग्छ ।
होटल व्यवसायीहरुको छाता संगठन होटल एसोसिएसन नेपाल (हान) का अनुसार मुलुकको होटल उद्योगमा हालसम्म ३ खर्ब ५० अर्ब रुपैयाँ लगानी भइसकेको छ । मुलुकमा हाल १० वटा पाँचतारे, दुईवटा चारतारे, २२ वटा तीनतारेसहित दुईतारे, एकतारे, रिसोर्ट, टुरिस्ट क्लास, ताराविहीन गरी १२ सय होटल सञ्चालनमा छन् । यीनीहरुमा करिब ४० हजार बेड छन् । सरकारले पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेपछि नेपालमा पर्यटन विकासको सम्भावनालाई मध्यनजर गर्दै होटल क्षेत्रमा लगानीकर्ताहरु आकषिर्त भएका हुन् ।
No comments:
Post a Comment