एमाले महाधिवेशन मिति प्रस्ताव - मिथला दर्सन !
Headlines News :
Home » » एमाले महाधिवेशन मिति प्रस्ताव

एमाले महाधिवेशन मिति प्रस्ताव

Written By Unknown on Friday, 10 January 2014 | 22:44

लक्की चौधरी काठमाडौँ, पुस २७ गते ।  नेकपा (एमाले) सचिवालय बैठकले आगामी २०७१ वैशाख ११ देखि १५ सम्म पार्टीको नवौँ महाधिवेशन गर्ने प्रस्ताव तयार गरेको छ ।
सचिवालयको बैठकले सो मिति प्रस्तावका रूपमा तयार गरेको भए पनि शनिबार बस्ने स्थायी कमिटीको बैठकले सो मितिलाई अनुमोदन गरेपछि पुनः केन्द्रीय कमिटी बैठकले समेत पारित गर्नुपर्ने हुन्छ ।  सचिवालयको सो प्रस्ताव अनुपयुक्त लागेमा केन्द्रीय कमिटीले उल्ट्याई अर्को अनुकूल मिति निर्णय गर्नसक्ने नेताहरूको भनाइ छ ।
स्थायी कमिटी सदस्य भरतमोहन अधिकारका अनुसार सचिवालयले गरेको महाधिवेशनको प्रस्तावलाई स्थायी कमिटी र केन्द्रीय कमिटीमा छलफलपछि पारित भएमात्रै महाधिवेशनको मिति तय हुनेछ ।  सचिवालयले मितिसँगै महाधिवेशन तयारीका लागि विभिन्न समिति तथा उपसमति बनाउने प्रस्ताव पनि गरेको छ ।
प्रस्तावमा विधान संशोधन समिति, महाधिवेशन मूल व्यवस्थापन, दस्तावेज लेखन, आर्थिक समिति, प्रचार, सांस्कृतिक समिति तथा उपसमितिहरू छन् ।  आवश्यकताअनुसार केन्द्रीय कमिटी बैठकले थप समिति र उपसमितिहरू बनाउनसक्ने पार्टीको वैधानिक व्यवस्था रहेको नेता अधिकारीले जानकारी दिनुभयो ।  सचिवालयले पदाधिकारीको सङ्ख्या बढाई एकजना वरिष्ठ उपाध्यक्ष, ७० वर्ष उमेर पुगेका नेताले पार्टीबाट अवकाश लिनुपर्नेलगायतको प्रस्तावसमेत तयार गरेको बुझिएको छ ।
पार्टीको महाधिवेशन हरेक पाँच वर्षमा गर्ने व्यवस्था विधानमा रहे पनि आवश्यकताअनुसार एक वर्ष थप गर्नसक्नेसमेत व्यवस्था रहेको अधिकारीको भनाइ छ ।  तर, निर्वाचनपछि पार्टीलाई नयाँ जिम्मेवारी आइपरेकाले महाधिवेशन समयमै गरी पार्टीलाई सक्रिय पार्ने आवश्यकता पनि आइलागेको नेता अधिकारीले बताउनुभयो ।
पार्टीको विधान संशोधनका लागि सचिवालयले आगामी फागुन १४ र १५ गते राष्ट्रिय प्रतिनिधि परिषद्को बैठक बोलाउने प्रस्ताव गरेको छ ।  सोही बैठकले संशोधन गर्नुपर्ने विधानका बुँदाबारे टुङ्गो लगाउने बताइएको छ ।  यसअघि गत भदौमै राष्ट्रिय प्रतिनिधि परिषद्को बैठक बोलाउने तयारी एमालेले गरे पनि संविधानसभा निर्वाचनका कारण सो बैठक बस्न सकेको थिएन ।
स्थायी कमिटी सदस्य अधिकारीले निर्वाचनले सक्षम र चुस्त नयाँ कार्यसमितिको टुङ्गो लगाउने विश्वास व्यक्त गर्नुभयो ।
यस्तै सचिवालयले महाधिवेशन प्रतिनिधि छनोटका लागि आगामी चैत २१ देखि छनोट प्रक्रिया सुरु हुनुपर्ने, केन्द्रीय कमिटीको बैठक माघ १० र ११ गतेका लागि प्रस्ताव गरेको छ ।  पुस २७ गते शनिबार बस्ने स्थायी कमिटीको बैठकमा सचिवालयले प्रस्ताव गरेका सबै एजेन्डा छलफलका लागि प्रस्तुत गरिने नेता अधिकारीले जानकारी दिनुभयो ।
महाधिवेशन हुने करिब निश्चित भएपछि अध्यक्षका प्रत्यासी प्रमुख नेता तथा पदाधिकारीका लागि तयारीमा जुटेका नेताहरूले कार्यकर्तासँगको भेटघाट तीव्र पारेका छन् ।  अहिलेसम्म अध्यक्षका प्रत्यासीमा वर्तमान अध्यक्ष झलनाथ खनाल, स्थायी समिति सदस्य केपी शर्मा ओली, वरिष्ठ नेता माधवकुमार नेपाल तथा उपाध्यक्ष वामदेव गौतमको चर्चा कार्यकर्ता पङ्क्तिमा सुनिन सुरु भइसकेको छ ।
Share this article :

No comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. मिथला दर्सन ! - All Rights Reserved
Template Modify by Creating Website
Proudly powered by Blogger