फेरिँदै मानव बेचबिखनका तरिका प्रमुख माध्यम बन्दै मोबाइल - मिथला दर्सन !
Headlines News :
Home » » फेरिँदै मानव बेचबिखनका तरिका प्रमुख माध्यम बन्दै मोबाइल

फेरिँदै मानव बेचबिखनका तरिका प्रमुख माध्यम बन्दै मोबाइल

Written By Unknown on Thursday, 9 January 2014 | 01:56

एक महिनाअघि बाजुराको बुढीगंगाकी २१ वर्षीय रीतादेवी (नाम परिवर्तन) मोबाइलकै भरमा कहिले नदेखेको र नचिनेको मान्छेले बोलाउँदा भारत, मुम्बईका लागि घरबाट हिँडिन् ।
बिहे गरेको केही दिनमा श्रीमान् रोजगारीका लागि भारत हिँडे । श्रीमान्सँग फोन सम्पर्क गर्न उनले मोबाइल किनिन् । मोबाइलमा एक दिन नचिनेको नम्बरबाट फोन आयो । पहिलो दिन गलत नम्बर भनी राखेपछि विस्तारै फेरि त्यही नम्बरबाट आउन थाल्यो । फोन सम्पर्क बढ्दै गएपछि उनको भारतमा बस्ने अपरिचितसँग मायाप्रेम बस्दै गयो । मायाप्रेम मात्र कहाँ ? एक दिन ती अपरिचितले फोनबाटै मुम्बई आउनु अनि बिहे गरौँला भनी बोलाएपछि उनी कहिले नदेखेको र नचिनेको मान्छेसँग बिहे गर्न भनेर घरबाट हिँडिन् ।
 कञ्चनपुरको गड्डाचौकी सीमा नाका हुँदै मुम्बई जाँदै गरेकी ती महिलालाई माइती नेपालका कर्मचारीले सोधपुछ गर्दा उक्त रहस्य बाहिर आयो । त्यसपछि माइती नेपालले उनको उद्धार गरी आफन्तको जिम्मा लगायो । उनलाई मुम्बईबाट एक अपरिचित व्यक्तिले उनकै घर छेउमा घर भएको बताउँदै बिहे गर्छु भनेर ललाइफकाई मुम्बई बोलाएको थियो ।
गत पुसमा मोबाइलमै भएको चिनजानले कैलालीको शिखरझालाकी ३० वर्षीया एक महिला दुधे बालकसहित दिल्ली नजिक गुडगाउँ पुगिन् । श्रीमान् घरमा नभएको र घरपरिवारका अन्य सदस्यसँग सम्बन्ध बिग्रेका बेला आएको अपरिचितको फोनले उनलाई काठमाडौं हुँदै गुडगाउँ पुर्‍यायो । पहिलोपटक गलत नम्बर पर्‍यो भनेर माफी माग्दै फोन राखेको अपरिचित व्यक्तिले विस्तारै फेरि फोन गरेर सम्बन्ध बढाउन थाल्यो । उसले फोनमा ती महिलासँग प्रेम प्रस्ताव गरेको र बिहे गर्छु भनेर गुडगाउँ बोलायो । केही दिन काठमाडौं राखेर भारततिर पुर्‍याई छाडेपछि अलपत्र परेकी ती महिलाको नौ महिनापछि माइती नेपालले नै उद्धार गरेको हो ।
माइती नेपालले मात्रै कञ्चनपुरको सीमा नाका गड्डाचौकीमा उद्धार गरिएका ७६ जना महिलामध्ये आधाभन्दा बढी मोबाइलकै माध्यमबाट फसेका छन् । 'मोबाइलकै माध्यमबाट कहिले नदेखेको र नचिनेको मान्छेले बोलाउँदा पनि भविष्यको कुनै चिन्ता नगरी भारततिर जाने गरेको पायौं,' माइती नेपाल कञ्चनपुरकी संयोजक महेश्वरी भट्टले भनिन्, 'मोबाइलमा बोल्ने मान्छे पनि वास्तविक हो कि होइन केही जानकारी नभइकनै गइरहेका थिए ।'
उनले कतिपय बुझेका र पढेलेखेका पनि मोबाइलकै भरमा भारततिर जान लागेका भेटिएको बताइन् । 'स्नातक अध्ययन गरिरहेका पनि मोबाइलकै भरमा घर छाडेर सीमामा पुगेका युवतीलाई उद्धार गरी आफन्तको जिम्मा लगायौं,' उनले भनिन् ।
हालका वर्षमा मोबाइल फोनको बढ्दो प्रयोगले महिला तथा बालबालिका बेचबिखनको उच्च जोखिममा परेको मानव बेचबिखन रोकथामको क्षेत्रमा कार्यरत गैरसरकारी संस्थाका प्रतिनिधि बताउँछन् । 'पछिल्ला केही वर्षयता अधिकांश महिला मोबाइलकै माध्यमबाट बेचबिखनमा परेका छन्,' संयोजक भट्टले भनिन्, 'फोनमै माया प्रेम बसेर मान्छे को हो र कहाँको हो भन्ने पनि जानकारी नभइकनै आउने १६/१७ वर्षका युवती पनि सीमामा रोकथाम गरेका छौं ।'
मानव बेचबिखनकै क्षेत्रमा कार्यरत साथी संस्थाकी जिल्ला संयोजक उर्मिला शाही पनि मानव बेचबिखनका तरिका परिवर्तन हुन थालेको बताउँछिन् । 'मोबाइल अहिले महिलालाई फसाउने प्रमुख माध्यम बनेको छ,' उनले भनिन्, 'गत वर्ष भारतका विभिन्न ठाउँबाट उद्धार गरिएका ४ जनामध्ये २ महिला मोबाइलकै भरमा घर छाडेर हिँडेका पायौं ।' उनले मोबाइल फोनको दुरुपयोगले मानव बेचबिखनको स्वरूप नै परिवर्तन भइरहेको बताइन् । 'फोन गर्ने व्यक्तिलाई कहिल्यै नदेखेको भए पनि मोबाइलमै माया प्रेम बस्छ,' उनले भनिन्, 'मोबाइलमै बिहे प्रस्ताव आएर घर छाडेर बिचल्लीमा परेका छन् ।'



Share this article :

No comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. मिथला दर्सन ! - All Rights Reserved
Template Modify by Creating Website
Proudly powered by Blogger