बाबुराम र नारायणकाजीसँग नझुक्न प्रचण्डलाई सुझाव भट्टराई पक्ष भन्छ- यो सबैलाई जेलमा पुर्‍याउने बुद्धि हो - मिथला दर्सन !
Headlines News :
Home » » बाबुराम र नारायणकाजीसँग नझुक्न प्रचण्डलाई सुझाव भट्टराई पक्ष भन्छ- यो सबैलाई जेलमा पुर्‍याउने बुद्धि हो

बाबुराम र नारायणकाजीसँग नझुक्न प्रचण्डलाई सुझाव भट्टराई पक्ष भन्छ- यो सबैलाई जेलमा पुर्‍याउने बुद्धि हो

Written By Unknown on Thursday, 9 January 2014 | 16:19

एकीकृत नेकपा माओवादीको अन्तरविरोध बढ्दै गएका बेला संस्थापन पक्षका नेताहरुको गोप्य बैठकले अध्यक्ष प्रचण्डलाई बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठसँग नझुक्न र अझ कडारुपमा प्रस्तुत हुन सुझाव दिएको छ । भट्टराई र श्रेष्ठले लीलामणि पोख्रेलको घरमा बैठक आयोजना गरेर निर्वाचन आयोगमा प्रचण्डविरुद्ध मुद्दा हाल्ने तयारी गरेको दाबी समेत गरेका छन् ।
निर्वाचनमा पराजयसँगै एमाओवादीभित्र विवाद चुलिँदै गएको छ । समानुपातिक उम्मेद्वार छनोटमा चित्त नबुझेपछि डा. बाबुराम भट्टराई र नारायाण्काजी श्रेष्ठले प्रचण्डसमक्ष लिखित ज्ञापनपत्र बुझाइसकेका छन् । माघ २ गतेदेखि बस्ने केन्द्रीय समिति बैठकका लागि अध्यक्षले राजनीतिक प्रतिवेदन तयार पारिरहेका छन् । तर, भट्टराई र श्रेष्ठले अलग दस्तावेज ल्याउने आन्तरिक तयारी गरिरहेको चर्चा छ । यही सन्दर्भमा प्रचण्ड पक्षका नेताहरुको हालै सम्पन्न छलफलले भट्टराई र श्रेष्ठसँग नझुक्न अध्यक्ष प्रचण्डलाई सुझाव दिएका हुन् ।
‘भट्टराई र श्रेष्ठले समानुपातिक उम्मेद्वार छनोटका बेला अध्यक्षलाई असफल पार्ने षड्यन्त्र गर्नुभएकै हो,’ ‘प्रचण्ड खेमाका एक नेताले अनलाइनखबरसँग भने,’लीलामणि पोखरेलको घरमा भएको बैठकमा पोखरेल लगायतका नेताहरुको अडानका कारण यो षड्यन्त्र असफल भएको हो । तर, उहाँहरुले अध्यक्षको कदमविरुद्ध निर्वाचन आयोगमा मुद्दासमेत हाल्ने तयारी गर्नुभएको थियो ।’
अध्यक्ष प्रचण्ड पार्टीभित्र अनुशासन कायम गर्न अब कडा र सम्झौताहीन भएर अघि बढ्ने ती नेताले बताए । ‘शान्ति र संविधानको कार्यदिशालाई टुंगोमा पुर्‍याउन अब अध्यक्षको भूमिका शक्तिशाली हुनुपर्छ, यो तालले जसलाई जे मन लाग्यो त्यो बोल्ने छुट दिँदै जाने हो भने पार्टी चल्दैन,’ प्रचण्डका विश्वासपात्र मानिने ती नेताले अनलाइनखबरसँग कुरा गर्दै भने- ‘बाबुरामजीहरुले पार्टीभित्र लोकतान्त्रीकरणको कुरा उठाउनुभएको छ, कम्युनिष्ट पार्टीभित्र कहाँ हुन्छ लोकतन्त्र ? कम्युनिष्ट पार्टी त जनवादी केन्द्रीयताका आधारमा पो चल्छ ।’
प्रचण्डभन्दा बाबुरामका धेरै गल्ती
एमाओवादी नेता डा. बाबुराम भट्टराईले चुनावमा पार्टी पराजीत हुनुमा सोपान क्रमअनुसार अध्यक्षले बढी जिम्मेवारी लिनुपर्ने बताइरहेको सन्दर्भ कोट्याउँदा प्रचण्ड पक्षका ती नेताले भने-’नेतृत्वको हिसाबले अध्यक्षले नैतिक जिमेवारी लिनैपर्छ र लिन्छु पनि भन्न्नुभएको छ । तर, मिहीन पाराले कोट्याउने हो भने बाबुरामजीका गल्ती झन् धेरै छन् ।’
mao-Top-led
बाबुराम नेतृत्वको सरकारको विकल्पमा सुशील कोइराला नेतृत्वमा राजनीतिक सरकार गठन गर्न खोज्दा बाबुराम भट्टराईले नमानेका कारण रेग्मीको नेतृत्वमा सरकार गठन गर्नुपरेको र यसबाट पार्टीलाई घाटा लागेको प्रचण्ड पक्षको निश्कर्ष छ । त्यसैगरी चुनावको मुखमा उपाध्यक्षबाट राजीनामा दिएर डेढ महिनासम्म पार्टीलाई भुलाएको र चुनावमा अन्य दलसँग तालमेल हुन नदिएको आरोप पनि प्रचण्डपक्षका नेताहरुले भट्टराईमाथि लगाएका छन् ।
‘संघीय समाजवादीसँग तालमेल गरौं भन्दा काठमाडौं ७ मा हिसिलाजीले छाड्न मान्नुभएन, प्रचण्डनिकट नेताले अनलाइनखबरसँग भने,’चुनावको मुखमा भट्टराईजीले राजीनामा दिएर पार्टीलाई अप्ठ्यारो पार्नुभयो ।’
भट्टराई र श्रेष्ठका विचारलाई सम्बोधन गर्नुभएन भने उहाँहरुले विद्रोह गर्ने अवस्था आउला नि ? अनलाइनखबरको प्रश्नमा एमाओवादी नेताले भने,- ‘उहाँहरुले पार्टी फुटाउने कुनै सम्भावना छैन । पार्टी छाडेर कहाँ जानुहुन्छ ? भएकै पार्टी त चुनाव हारेर यो स्थितिमा छ, अर्को पार्टी कसरी बनाउनुहुन्छ ? अर्को पार्टी बनाउनलाई फरक लाइन पनि त हुनुपर्‍यो नि, उहाँहरुसँग प्रचण्डको भन्दा भिन्न लाइनै छैन, बित्थामा समानुपातिकमा भाग खोजेर किचलो मात्रै गरिरहनुभएको छ ।’
बाबुराम पक्ष भन्छ : यो जेल पुर्‍याउने बुद्धि हो
अध्यक्ष प्रचण्डलाई कडा र शक्तिशाली बन्न सुझाव दिनेहरुका सम्बन्धमा भट्टराई पक्षका एक केन्द्रीय सदस्यले अनलाइनखबरसँग भने, ‘प्रचण्डलाई जसले यस्तो सल्लाह दिइरहेको छ, त्यसले सबैलाई जेलमा पुर्‍याउँछ, यो पार्टीलाई जेल पठाउने तरिका हो ।’
बाबुराम र नारायणकाजीले प्रचण्डलाई हटाउन खोजेको नभई पार्टीलाई रुपान्तरण गर्ने विषय मात्रै उठाएको भट्टराई पक्षका नेताको तर्क छ । ‘अहिले दुवै पक्षका नेतावीच आन्तरिक छलफल चलिराखेको छ, अध्यक्षले सानो गु्रपको शक्तिशाली हुनुभन्दा वा गुटको पावर लिएर बस्नुभन्दा पार्टीका सबै पक्षको र सिंगै जनताको नेता भएर बस्दा राम्रो हुन्छ, ‘भट्टराई पक्षका नेताले भने,- ‘चुनाव हारेर यो अवस्थामा आइपुगेका बेला आफ्नो आलोचना गर्नेलाई पार्टीबाट निकालेर कस्तो अध्यक्षले पार्टी बनाउनुहोला ? उहाँलाई कडा बन्न बुद्धि दिनेले विचार गरुन् ।’

Share this article :

No comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. मिथला दर्सन ! - All Rights Reserved
Template Modify by Creating Website
Proudly powered by Blogger