नेपालले द्वन्द्वग्रस्त दक्षिणी सुडानमा नेपाली शान्ति स्थापनाका लागि नेपाली सेनालाई खटाउने भएको छ । मन्त्रिपरिषद्को बिहीवार बसेको वैठकले संयुक्त राष्ट्रसंघको आह्वानमा नेपाली सैनिक पठाउने निर्णय गरेको सरकार प्रवक्ता एवं सूचना तथा संचारमन्त्री माधव पौडेलले जानकारी दिनुभयो ।
एक साताअघि राष्ट्रसंघका महासचिव बान की मुनले अन्तरिम मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीलाई टेलिफोन गरि सैनिक पठाइदिन आग्रह गर्नुभएको थियो । सरकारको नयाँ निर्णयपछि काठमाण्डौबाट ५ सय सैनिक दक्षिण सुडान प्रस्थान गर्नेछन् ।
सरकारले यसअघि नै हइटीमा कार्यरत साढे तीन सय नेपाली सेनालाई दक्षिणी सुडान पठाउने निर्णय गरिसकेको थियो ।
१२ डीआईजीको सरुवा
सरकारले सशस्त्र प्रहरीका १२ डीआईजीको सरुवा गरेको छ । केहीबेर अघि सम्पन्न मन्त्रिपरिषद् बैठकले १२ डीआईजीको सुरुवा गरेको हो । सोअनुसार प्रेमकुमार शाही, दिवाकर केसी, निराकारबिक्रम शाह, भिष्मकान्त अर्याल, सिंहबहादुर श्रेष्ठ, महाविर गुरुङ र देवेन्द्रकुमार सुब्बालाई क्षेत्रीय कार्यालयबाट प्रधान कार्यालयमा सरुवा गरिएको छ ।
यसैगरि जीतबहादुर पुन सुदुरपश्चिम, उत्तम खड्का मध्यपश्चिम, शैलेन्द्र खनाल मध्य क्षेत्र, नारायणध्वज थापा, पश्चिमाञ्चल र पुष्पराज केसीलाई पूर्वाञ्चल क्षेत्रीय कार्यालयमा सरुवा गरिएको छ ।
बैठकले नेपाल प्रहरीको नियमावली संशोधनबारे भने कुनै निर्णय गरेन ।
टेलिकममा भट्टराई
नेपाल टेलिकममा अर्को व्यवस्था नभएसम्म अनुप रन्जन भट्टराईलाई प्रवन्ध निर्देशकको जिम्मेवारी दिएको छ । तत्कालीन प्रवन्ध निर्देशक अमरनाथ सिंहले उमेर हदका कारण अवकास पाएपछि उक्त पद रिक्त थियो । कामुको जिम्मेवारी पाएका भट्टराई यसअघि सीडीएमए विभागका निर्देशक थिए ।
परराष्ट्रमन्त्री भारत जाने
वैठकले परराष्ट्रमन्त्री माधवप्रसाद घिमिरेको भारत भ्रमणलाई पनि अनुमोदन गरेको छ । भारतीय परराष्ट्रमन्त्री सलमान खुर्सिदको निमन्त्रणमा घिमिरे नेतृत्वका टोली पुस ३० गतेदेखि माघ २ गतेसम्म भारत भ्रमणमा रहने छ ।
वैठकले जर्मनीमा खाद्य सुरक्षासम्बन्धी सम्मेलनमा भाग लिन जान लागेका कृषिमन्त्री टेकबहादुर थापालाई भ्रमण अनुमति दिएको छ भने ट्राफिक सचेतनासम्बन्धी दक्षिण एसिशाली सम्मेलन आयोजनाका लागि गिरिजाप्रसाद कोइराला फाउण्डेसनलाई १५ लाख रुपैयाँ अनुदान दिने निर्णय गरेको छ ।
No comments:
Post a Comment