अग्ला पर्खालभित्रको परिसर । थोत्रा दुईवटा ट्रक र त्यसभित्र मक्किएका काठ । गाडीकै सामुन्ने दुईथरि सुरक्षाकर्मीको २४ घन्टे सुरक्षा । यो दृश्य हो, काठमाडौंको बबरमहलस्थित वन विभागको ।
बबरमहलस्थित वन विभागको परिसरमा राखिएका यी ट्रक वर्षौंदेखि थन्किएका हुन् । रक्तचन्दन ल्याएको भन्दै समातिएका थिए यी गाडीहरु । अहिले यी गाडी ‘बाँदरको पुच्छर लौरो न हतियार’ जस्तै भएको छ वन विभागका लागि । न लिलाम गर्न सक्छ, न सदुपयोग नै ।

ट्रकका पांग्रा मक्किसकेका छन् । भित्र राखिएका काठमा धमिरा र धूलियाको रजाँइ छ । तर, यही मक्किएका काठपात र खियाले जाम भएको ट्रक रुङ्न सशस्त्र प्रहरी र सशस्त्र वन रक्षकको टोली नियमित कार्यरत छन् । ‘अब त सित्तैमा दिए पनि कसैले लग्दैनन् होला, एकजना वन कर्मचारीले भने ‘जंगलमा दिनदहाडै रुख चोरिन्छन्, हामी भने यी थोत्रा गाडी र मक्किएको काठ रुँङ्गेर बसेका छौं ।’
यस्तो थियो पृष्ठभूमि
घटना ०६३ तिरको हो । रक्तचन्दन भारतबाट नेपाल हुँदै चिनियाँ बजार पुग्ने क्रम चुलिएको थियो । प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला थिए । त्यसबेला कोइरालाकै नातेदारले काठमाण्डौ जिल्ला वन कार्यालयका डीएफओलाई फोन गरेर रक्तचन्दनको भाग खोजेको स्रोत बताउँछ । त्यहीबेला अर्थमन्त्रीले तत्कालीन वनमन्त्री रहेका कांग्रेस नेतलाई खबर गरेपछि वनमन्त्रीले रक्तचन्दन समात्न आदेश दिए ।
मन्त्रीको आदेशपछि वन कर्मचारी चनाखो भए । जिल्ला वन काठमाण्डौका कर्मचारीले रातविरात गरी १९ हजार केजी रक्तचन्दन बरामद गरे । तर, विडम्बना Û कारोबारकर्ताले मन्त्री नै किनिदिएको चर्चा चल्यो । त्यसपछि कारोबार फुकाउन ५० लाख रुपैंयाँको डि्रल भएछ । २५ लाख रुपैंयाँ वनमन्त्रीले लिए । २५ लाख रुपैंयाँ भरिएका दुईवटा बि्रफकेश कोइराला निवासमा पुर्याउने भनेर तयार पारियो । तर, एउटा मात्रै त्यहाँ पुग्यो, अर्को बाटैमा गायव भयो । कांग्रेस नेताले सोधखोज गर्दागर्दै स्टकमा रहेको सबै रक्तचन्दन त्यही रात “पास” भयो । यी दुईवटा ट्रक भने पास हुन पाएनन् । पछि यहीँ रहेको रक्तचन्दनको एक हिस्सा गिरिजाप्रसादलाई जलाउन आर्यघाटमा प्रयोग गरियो । बाँकी रक्तचन्दन अझैसम्म प्रहरीलाई रुङ्न लगाइँदै छ ।
कहाँबाट कसरी आउँछ रक्तचन्दन ?
नेपालमा रक्तचन्दन भारतबाट आउने गरिएको भनिन्छ । तर, सबै रक्तचन्दन पनि भारतमा उत्पादन हुन्छन् भन्ने ग्यारेन्टी छैन । मलेसियाबाट पनि भारततिर निर्यात हुने गरेको बताइन्छ ।
जानकारहरुका अनुसार नेपालको भन्सारमा कर तिरी रक्तचन्दन आयात हुने गरेको थियो । तर ०६१ ताका वन विभागका तत्कालीन उपमहानिर्देशक गोपालकुमार श्रेष्ठले साइटिस कानुनमा उल्लेखित रक्तचन्दनजस्ता काठको कारोबार रोक्नुपर्ने परिपत्र गरेपछि यो विषयमा हंगामा मच्चिएको हो । विभागले कारोबार रोकेपछि अभाव भयो । महत्व पनि वोध भयो । बजारमा भाऊ चम्कियो ।
यद्यपि, साइटिसले रक्तचन्दनलाई रोक्न नमिल्ने वनविभागका पूर्व महानिर्देशक माधवप्रसाद आचार्य बताउँछन् । साइटिसले नियमानुसार संकलन भई आएको तथा आफ्नै उत्पादनमा अनुमति लिई कारोबार गर्न पाउने भनेको उनको तर्क छ । रक्तचन्दनको हकमा यो नियम लागू हुनसक्ने उनी बताउँछन् । आफ्नै भूमिको उत्पादन नभएको तथा भन्सार तिरेर आयात भएको सामाग्रीमा सरकारले रोक लगाउन नमिल्ने उनको विश्लेषण छ । तर, कारोबारको क्रममा साइटिसमा उल्लेखित पैदावारमा साइटिस उल्लेखित लोगो टाँस्नुपर्ने, साइटिस अधिकारी तोक्नुपर्ने नियम पालना गर्नुपर्ने हुन्छ ।
साइटिसले आफ्नो पैदावारको संरक्षणका लागि आफ्नै कानुन बनाउन भनेको छ । कानुन नबनेको हकमा जुन भूमि वा देशबाट आएको हो त्यहीं फर्काउन पनि सकिने वा लिलाम गर्न सकिने प्रावधान छ । तर, नेपाल भित्रिएको रक्तचन्दन भारतीय भूमिको उत्पादन हो भन्ने पुष्टि नगरी उतै फर्काउने प्रयास पनि गरियो । “भारतलाई ट्रान्जिट बनाएर आउने गरेको पनि छ” एकजना वनविज्ञ भन्छन् “हचुवा भरमा भारत फिर्ता पठाइँदा हाम्रो स्वाभिमान कमजोर भएको छ ।”
के गर्न सकिन्छ ?
विज्ञहरुका अनुसार साइटिसले यस्तो विषयको समाधानमा केही बाटो औंल्याएको छ । पहिलो, आगो लगाएर नष्ट पार्ने, दोस्रो आन्तरिक खपत गर्ने वा तेस्रो जुन मुलुकबाट आएको हो, त्यहीँ फिर्ता पठाउने । तर, फिर्ता गर्नुअघि उत्पादन भएको भूमि (ओरिजिन) प्रमाणित हुनुपर्ने या साइटिसलाई टेकेर लिलाम विक्री पनि गर्न सकिने जानकारहरुको सुझाव छ ।
रुङ्नुभन्दा आर्यघाट पठाउनु बेस
रक्तचन्दन हिन्दू संस्कारसित पनि जोडिएको पैदावार हो । यसलाई पूजा गर्ने, घोटेर खाने वा मृत्यु संस्कारमा समेत प्रयोग गर्ने चलन छ । गिरिजाप्रसाद कोइरालाको दाहसंस्कार पनि यही समातिएको रक्तचन्दनमध्येबाट १ सय १० केजी प्रयोग गरिएको थियो । ‘सरकारले नै लिखित अनुमति दिएपछि त्यसबेला रक्तचन्दन आर्यघाट पठाइएको थियो,’ आचार्य भन्छन् ।
रक्तचन्दनको सदुपयोग गर्न लिलाम बढाबढ गरेर वा पशुपति आर्यघाटमा सर्वसाधारणको लागि पनि वितरण गरी सदुपयोग गर्न सकिने आचार्यको प्रतिक्रिया छ । ‘तर, दर्जनौं जनशक्तिलाई रुङ्गन लगाउने र पैदावर सडाएर नष्ट पार्नु बुद्धिमतापूर्ण कार्य होइन,’ उनले भने ।
No comments:
Post a Comment