
तर अहिले उनीहरुको चोर्ने तरिका र चोरीने सामानमा फरक आएको छ । चोरहरु चोर्न अहिले दिउँसो घरमा कोही नभएका बेला सुटुक्क पस्छन् । अनि ४ वटा चिज मात्र चोरी गर्छ्न । 'नगद, सुन, ल्यापटप र मोबाइल ।' पछिल्लो समयका प्रहरी तथ्याङकले यहि देखाउँछ । ३ महिनामा राजधानीमा १९ वटा चोरी भए । दिउँसोको समयमा भएका सबै चोरीमा चोरले नगद, सुन, मोबाइल र ल्यापटप मात्र लगेका छन् ।
एक साता अघि महानगरीय प्रहरी बृत गौशालाले गेष्टहाउसमा बसेर चोरी गर्ने ४ गिरोहलाई पक्राउ गर्र्यो । बागबजारको जयदुर्गा गेष्टहाउसमा बसेर गौशाला, पिंगलास्थान, सिफल, ज्ञानेश्वर लगायतका क्षेत्रमा घर धनी नभएका बेला चोरी गर्ने उनीहरुले चार स्थानमा गरेका चोरीमा सुन, नगद, मोबाइल र ल्यापटप मात्र लगे । किन त ? 'चोरी गरेपछि सामान लुकाउन सजिलो र बिक्रि गर्न समेत सजिलो हुने भएकाले त्यसो गर्न थालेका हुन्' महानगरीय प्रहरी अपराध महाशाखाका डिएसपी ओम अधिकारी भन्छन् 'पहिला चोरलाई समात्दा उसले चोरी गरेका सामान बरामद गर्न मिनी ट्रक लिएर जानु पथ्र्यो, अचेल एउटा प्लाष्टिकको झोला भए पुग्छ ।' चोरी गरिका ति सामानहरु सहजै बिक्री हुने गरेका छन् । सुरुमा चोरीका सामानमा बहुमुल्य टिभि, फ्रिज हुन्थे । अचेल १ लाख भन्दा बढि मुल्य पर्नेहरु भए ।
सस्तोमा सामान भेट्दा ब्यापारीले सहि गलत नहेरी लालचमा परेर सामान खरिद गर्ने गरेका कारण समेत चोरहरु यस्ता सामान चोरी गर्न उत्साहित हुने गरेको डिएसपी अधिकारीको भनाई छ । महानगरीय प्रहरी अपराध महाशाखाले केहि साता अघि यसरी चोरीका सामान खरिद गर्ने एक जनालाई पक्राउ गरेको छ । महाशाखाले संतुगलमा मोबाइल ब्यापारी गगन मानन्धरलाई पक्राउ गरेको थियो । उनले चोरीका मोबाइल आधा भन्दा कम दाममा खरिद गरेको भेटिएपछि महाशाखाले मानन्धरलाई पक्राउ गरेको थियो । 'चोरीको हो भन्ने जान्दा जान्दै उनले खरिद गरेको पाइयो' डिएसपी अधिकारीले भने 'उनलाई मुलुकी ऐन चोरीको महल बमोजिम चोरीको सामान जानी जानी किनेको अभियोगमा मुद्धा चलाइयो ।' मानन्धर २४ दिन प्रहरी हिरासतमा बसे ।
महाशाखाले मंसिर तेस्रो साता जोरपाटीमा चामुण्डास्थित धावा शेर्पाको घरमा चोरी गर्ने ६ जनालाई पक्राउ गरेको थियो । घरमा कोही नभएका बेला २० लाख बराबरको धनसम्पत्ति चोरी भएको थियो । त्यो चोरी समुहले पनि सुन, नगद, मोबाइल र ल्यापटप चोरी गरेका थिए । यि चोरले नयाँ बजारका सुन ब्यावसायी रामबहादुर सुनारलाई बिक्रि गरेका थिए । सुनारले चोरबाट खरिद गरेको १५ तोला सुन नातेदार दिपेन्द्र सुनार मार्फत नेपाल बैङकको थानकोट शाखामा राखेर ४ लाख ८५ हजार रुपैंया निकालेका थिए । महाशाखाले रामबहादुर र दिपेन्द्र दुबैलाई चोरीको सामान खरिद गरेको आरोपमा पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । अपराध महाशाखाले प्रहरीले सस्तो भेटियो भन्दैमा सामानका बारेमा थाहा नपाई खरिद नगर्न सर्वसाधारणलाई सुझाएको छ ।
केहि दिन अघि भक्तपुरमा १५ बर्षे एक किशोरले भक्तपुरका बिभिन्न स्थानमा चोरी गरे । घरको झ्याल खुल्ला देखेपछि झ्यालबाट छिरेर उनले यस्ता सामान चोरी गर्ने गरेका थिए । प्रहरीले उनलाई पक्राउ गर्दा उनको साथमा डेल कम्पनीका ३ वटा ल्यापटप, आइफोन र सोनी ईरेक्सनको मोबाइल सेट थियो । उनले त्यसरी चोरी गरेका सामान २ सय देखी ५ सय रुपैंयामा ब्यापारीलाई बेच्ने गरेको भक्तपुर प्रहरीले जनाएको छ । आफ्नो घरमा चोरी भएपछि प्रहरीमा उजुरी गर्दा कतिपयले भने धेरै बढाई चढाई गरेर उजुरी गर्ने गरेको प्रहरी अधिकारीहरुको अनुभब छ । 'जिन्सी सामान मोबाइल ल्यापटपको सही जानकारी दिएपनि सुन र नगद चाँही बढाएर दिने गर्छन्' उनले भने 'चोर पक्राउपछि चोरीएका घरमा लिएर गयो, चोरले धनीकै अगाडी उसको घरबाट त्यति धेरै चोरी गरेको होइन भन्छन् ।'
No comments:
Post a Comment