
नेतृत्वकर्ताहरू एकीकरणको पक्षमा देखिदैंनन् – संजयकुमार साह (उपाध्यक्ष तथा सभासद्, सद्भावना पार्टी)
— संविधानसभामा जाने पार्टीले निर्णय गरेको छ । तर संविधानसभा भित्र र बाहिर पनि संघर्ष गरेर अगाडि बढ्ने सम्झौता भएको छ ।
० एकीकृत माओवादी र केही मधेशवादी दलहरूले चुनावमा धाँधली भयो भन्दै उच्चस्तरीय छानबिन आयोगको माग गर्दै आएका थिए तर तपाईहरू सम्मिलित आठ दलले चार बुँदे सहमति ग¥यो । त्यसो भए त्यो सहमतिअनुसार धाँधलीसम्बन्धी विषय संसदीय समितिबाट नै छानबिन हुने भयो नि ?
— छानबिन गर्ने भन्ने कुरा त सहमति भइसक्यो । नेपाली कांग्रेस, एमाले लगायत सबै ठूला पार्टीहरूले यो कुरालाई स्वीकार गरिसकेका छन् ।
० आयोग त नबन्ने भयो नि ?
— यो कुरालाई धेरै ठूलो विषय बनाउनु भन्दा पनि अहिलेको संविधानसभाबाट कसरी अग्रगामी संविधान शोषित पीडित जनताको पक्षमा बनाउन सकिन्छ भन्ने मुख्य उद्देश्य रहेको छ । जुन किसिमले निर्वाचनमा धाँधली भयो निर्वाचनसँगै त्यो कुरा उठाउनु पर्ने आवश्यकता थियो । राष्ट्रिय र अन्तराष्ट्रियस्तरको ध्यान आकर्षण गर्ने एउटा उद्देश्य थियो । परवर्तनकारी शक्तिहरू जसले परिवर्तन खोजेका थिए तिनीहरूलाई परास्त गर्न कमजोर बनाउन अहिलेको संविधानसभाको निर्वाचनको क्रममा खोजियो । झट्टहेर्दा न्योचित लाग्ने तरिकाले परिवर्तनकारी शक्तिहरूलाई परास्त गर्ने काम भयो । यति हुँदाहुँदै पनि हामीले अलि लचिलो भएर संविधानसभा भित्रबाट पनि उद्देश्य प्राप्त गर्ने सकिन्छ भनेर अहिलेको संविधानसभामा जान लागेका हौं ।
० जसरी आठ दलको सहमतिमा एक वर्षभित्र संविधान दिन्छौं भनेर सहमति जुटाउनु भएको छ । अब तपाईहरूले एक वर्षभित्र संविधान बनाएरै दिनुहुन्छ भनेर जनताले कसरी विश्वास गर्न सक्छन् ?
— संविधानसभामा अधिकारसम्बन्धी धेरै कामहरू पहिलो संविधानसभाबाटै पूरा भइसकेको छ । पूरा भएका ती कामहरूको स्वामित्व ग्रहण गर्ने कुराको पनि समझदारी आन्तरिक र बाहिरीरूपले पनि भएकै कुरा हो । त्यसलाई ध्यान दिएर हामीले ६ महिनाभित्र नै एउटा मस्यौदा जनता समक्ष पेश गर्न सक्छौं । यदि नेपालका ठूला पार्टीहरू इमान्दार हुने हो भने एक वर्षभित्र नै हामीले संविधान पनि दिन सक्छौं ।
० यसपालिको संविधानसभाको चुनावमा मधेशवादी दलहरू पराजित हुनुको कारण के देख्नुहुन्छ ?
— यसको मुख्य कारण निर्वाचन निष्पक्ष र स्वच्छरूपले हुन नसक्नु नै हो । निर्वाचनमा नियोजित किसिमले धाँधली गराइएको थियो । सेना र प्रहरीद्वारा मत लुट्ने काम भयो र जनताको जनमत भन्दा पनि अहिले यो राज्यसंयन्त्रद्वारा ल्याइदिएको जनमत हो । त्यही कारण मधेशी पार्टीहरू कमजोर देखिएको मात्र हो ।
० मधेशी दलहरू बीच भएकोे टुटफुट र विभाजनलाई हारको कारण मान्नुहुन्न ?
— अहिलेको हारको त्यो कारण म देख्दिन किनभने मधेशी पार्टीको विकल्प मधेश विरोधी शक्तिहरू र मधेश विरोधी पार्टीहरू हुन सक्दैनन् । मधेशी पार्टी भित्र पनि धेरै विकल्पहरू मधेशी जनताको सामुन्ने थियो । मधेशी जनताले भोट पनि मधेशी पार्टीलाई नै हालेका हुन् । तर त्यो मत नै लुटियो नि त । अहिले देखापरेको परिणाम जनताले हालेको मतको होइन । मलाई लाग्दैन कि टुटफुटले कारणले मधेशी पार्टीको हार भएको हो ।
० तपाईको भनाई अनुसार मधेशी दलको हारको मुख्य कारण धाँधली मात्र हो त ?
— मुख्य कारण धाँधली मात्र हो मधेशी पार्टीहरूमा कोही ठूला कोही साना हुनसक्दथे । कोही सानो पार्टी ठूलो र ठूलो पार्टी सानो हुन सक्ने अवस्था थियो । मधेशी पार्टीबाट विकल्पहरू मधेशी जनताले खोजेका थिए । तर यो त मधेशी जनताको अभिमत नै प्रष्ट हुन सकेन नि । त्यसैले टुटफुट वा अन्य कारणले मधेशवादी पार्टीको पराजय भएको भन्ने म स्वीकार गर्दिन ।
० निर्वाचनमा एक दुई ठाउँमा धाँधली हुनु त सामान्य नै मानिन्छ तर जसरी तपाईले भनिरहनुभएको छ यसरी देशभरी नै धाँधली भएको हो त ?
— एकदम, यो ठूलो नियोजित किसिमले गरिएकोे षड्यन्त्र हो । यो परिवर्तनकारी शक्तिलाई परास्त गर्ने उद्देश्यले गरिएको हो । मुलुकमा २०३६–२०३७ सालमा भएको जनमत संग्रहको निर्वाचनमा भएको धाँधली जस्तै यो संविधानसभामा भयो । पहिलो संविधानसभामा जसले शोषित पीडित जनतालाई अधिकार दिलाउन खोज्यो ति शक्तिको विरूद्धमा भएको यो षड्यन्त्र हो । यस्तो षड्यन्त्रको सुरूवात पहिलो संविधानसभा जीवित हुँदाखेरी नै सुरू भइसकेको थियो । दुनियाँमा कहींकतै पनि पहिलो संविधानसभा दोस्रो संविधानसभा भनेर हुँदैन र नभएको हो । बितेको संविधानसभाले केही गम्भीर प्रश्नहरू छोडेको छ र यसको जवाफ पछि इतिहासले दिन्छ । अहिलेको संविधानसभाको निर्वाचनलाई तपाईले मात्र सरकार बनाउने व्यवस्थापिकाको चुनावको रूपमा लिनुभयो भने ठूलो भुल हुन्छ । पाँच वर्ष अगाडि नेपाली जनताले एक किसिमको ‘म्यान्डेट’ दिए एउटा मुद्दालाई समर्थन गरे । सरकार बनाउने यो निर्वाचन होइन । कोही व्यक्तिलाई जिताउन र हराउनको लागि निर्वाचन भएको होइन । पाँच वर्ष अगाडि ती मुद्दालाई नेपाली जनताले सही देखे र परिवर्तनकारी शक्तिहरूलाई ठूलो पार्टी बनाइदिए मुलुकमा पाँच वर्ष नबित्दै ती मुद्दाहरू कमजोर भएर जनताले साथ छोडिदिएको हो त ? यदि केही कारणले अहिलेको संविधानसभाले संविधान दिन सकेन भने अनि फेरि पाँच वर्षमा अर्को संविधानसभाको निर्वाचन गर्ने अनि फेरि अर्को किसिमको ‘म्याडेन्ट’ आइदियो भने के गर्ने । ५÷५ वर्षमा संविधानसभाको निर्वाचन गर्दै जाने । यो परिणामलाई हामीले स्वीकार गर्न नहुने थियो स्वीककार गर्नु नै गल्ती भयो ।
० तपाई भन्नुहुन्छ टुटफुटका कारण मधेशी दलहरूले हारेका होइनन् । तर कांग्रेस र एमालेले जितेका ठाउँमा मधेशवादी दलहरूको मत गणना गर्दा विजयी उम्मेदवारको भन्दा बढी हुँदो रहेछ यस्तो टुटफुटले गर्दा भएको होइन त ?
— केही ठाउँमा यस्तो भएको हुनसक्छ । तर त्यो देखाइएको मात्र पनि त हुनसक्छ नि जसले यत्रो ठूलो षड्यन्त्र गर्न सक्दछ संविधानसभालाई भंग गराउन सक्दछ अग्रगामी शक्तिलाई नै प्रयोग गरेर अर्को संविधानसभाको प्रस्ताव गराउन सक्दछ भने त्यस्ता राज्य संयन्त्रका शक्तिहरूले त्यति त मिलाउन सक्छन् नि ।
० जसरी तपाईले संस्थागतरूपमा नै धाँधली भयो भनेर आरोप लगाइराख्नुभएको छ त्यो सम्भव छ, यदि सम्भव छ भने त्यसको यथेष्ट प्रमाण अहिलेसम्म किन नभेटिएको त ?
— तथ्य आफैं प्रमाण हुन्छ नि । मंसिर चार गते भन्दा एक दिन अगाडि निर्वाचन आयोगले १० बुँदे ‘सर्कुलर’ परिपत्र जारी गरेको छ । त्यसबाट नै निर्वाचनमा धाँधली हुन्छ भन्ने लागेको थियो । २०३६ सालमा जसरी जनताको अभिमतलाई लुटेर बहुदललाई हराएर निर्दललाई जिताउने काम राज्य संयन्त्रले गरेको थियो । त्यस्तै प्रकृतिको अहिलेको यो निर्वाचन भएको छ । जुन किसिमले २०३६ सालमा जनताको मत सिधैं मतगणना केन्द्रमा लगिएको थिएन । त्यस्तै यो निर्वाचनमा पनि मतपेटिका मतगणना स्थानमा लगिएन मतपेटिका पहिले ‘आर्मी’ सेना र प्रहरीका ब्यारेकहरूमा राखिए । त्यसपछि जनप्रतिनिधिलाई मतपेटिकाको साथमा नलिइकन मतपेटिका गणना गर्ने स्थानमा लगिए । यस्ता धेरै प्रमाणहरू छन् ।
० जसरी एकीकृत माओवादी र मधेशवादी दलहरू सत्ता लिप्सामा लागे त्यही भएर जनताले यसपालि तिरस्कृत गरे भनेर पनि भनिन्छ यसमा कत्तिको सत्यता छ ?
— सत्ता लिप्सा त कांग्रेस र एमालेमा भन्दा बढी कसैमा छ र ? कांग्रेस र एमाले त संस्थागतरूपमा नै भ्रष्टाचारी पार्टी हो । मधेशवादी पार्टीको विकल्प यस्तो मधेश विरोधी पार्टीहरू, परिवर्तन विरोधी पार्टीहरू हुन नै सक्दैनथ्यो ।
० एकीकृत माओवादीले मुद्दाको कारण पनि हार व्यहोर्नुपरेको हो कि ?
— दुनिँयामा राज्य बनाउने संघ बनाउने केही मापदण्डहरू छन् केही नीतिहरू छन् त्यसलाई अबलम्बन गरेको हो । एउटै जातको राज्य हुन नै सक्दैन नि न कुनै पार्टीको घोषणा पत्रमा छ न कुनै पार्टीले भनेको छ । माओवादीले र मधेशवादी पार्टीले संविधानसभाको संवैधानिक राज्य पुर्नरसंरचना भन्ने एउटा समिति थियो । कांग्रेस र एमालेले यस्तो किसिमको संघीयता दिन खोेजेको छ जुन संघीयताले खास गरेर मधेशी जनताका लागि केही अर्थ राख्दैन । सबै राजनीतिक दलका नेताहरूलाई म सचेत गर्न चाहान्छु कि यो जनताको ताजा जनादेशको नाममा तपाईहरूले २०३६ सालमा जस्तो राजाले बहुदललाई हराएर निर्दललाई जिताउने काम भएको थियो त्यही जनताले सडकबाट जनादेश फ्यालिदियो र राजालाई घुँडा टेकाउन सफल भयो । लोकतन्त्रमा दुई तिहाई बहुमत र निर्वाचन नै सबै थोक भन्ने हुँदैन जनताले सबै कुराको जवाफ सडकबाट दिएको कैयौं घटनाहरू हामीले हेर्न सक्छौं ।
० यसपालिको संविधानसभामा मधेशवादी दलहरूको कम उपस्थिति हुँदैछ यस्तो अवस्थामा मधेश आन्दोलनबाट आएका मधेशका मुद्दा, समस्याहरूलाई तपाईहरू कसरी संविधानमा समावेश गराउँदै हुनुहुन्छ ?
— संख्याको हिसाबले अघिल्लो संविधानसभामा पनि हामी ठूलो संख्यामा थिएनौं । त्यतिबेला हामी ८३ को हाराहारीमा थियौं । अहिले ५० को हाराहारीमा छौं । हामीले गणितीय हिसाबले लगभग ३० सिट गुमाएका छौं । प्रतिशतको हिसाबले हेर्दा अहिले पनि उति नै मत पाएका छौं । मधेशवादी पार्टीहरूको मत प्रतिशतको हिसाबले घटेको छैन अहिले पनि संख्याको हिसाबले ३० वटा सिट गुमाएका छौं । मधेशी पार्टीहरूले सत्ता भन्दा पनि संविधान निर्माणमा ध्यान दिदाँ उपयुक्त हुन्छ भन्ने मेरो बुझाई हो ।
० पहिले सत्तामा गएर गल्ती भयो ?
— राजनीतिक सिद्धान्तले नै भन्छ कि अधिकारको लागि लड्ने पार्टीहरू सत्तामा भागीदार हुँदा जनताले पार्टी र व्यक्तिसँग मात्र जाँदैमा हुँदैन यसको थोरै प्रभाव मुद्दामा पनि पर्न जान्छ । अधिकारको लागि लड्ने पार्टीहरू सत्तामा नजाँदा उत्तम हुन्छ भन्ने मेरो बुझाई हो ।
० मधेशवादी दलहरूबीच एकीकरणको कुरा पनि चल्दैछ एकीकरणको प्रयास कहाँसम्म पुग्यो त ?
— एकीकरण हुनु त राम्रो कुरा हो । तर अहिले एकीकरणको सम्भावना म देख्दिन । मोर्चावन्दी हुनसक्दछ मोर्चाले पनि मधेशी जनताको सवालमा एक ढिक्का भएर काम गर्न सक्छ । अहिलेका मधेशवादी पार्टीका नेतृत्वहरूलाई हेर्दा यो स्थितिमा एकीकरण हुन गाह्रो छ । एकताको सवालमा मधेशी जनताले नै भोलिका दिनमा यस्तो परिस्थिति निर्माण गर्न सक्दछ कि त्यो एकता सम्भव हुन्छ ।
No comments:
Post a Comment