असहायको जीवन बचाउँदै मनकारी युवा ‘हाम्रा लक्ष्मी र नारायण उहाँहरु नै’ - मिथला दर्सन !
Headlines News :
Home » » असहायको जीवन बचाउँदै मनकारी युवा ‘हाम्रा लक्ष्मी र नारायण उहाँहरु नै’

असहायको जीवन बचाउँदै मनकारी युवा ‘हाम्रा लक्ष्मी र नारायण उहाँहरु नै’

Written By Unknown on Thursday, 9 January 2014 | 23:41


असहायको जीवन बचाउँदै मनकारी युवा

‘हाम्रा लक्ष्मी र नारायण उहाँहरु नै’

२०७० पुष २६ गते १०:४१ मा प्रकाशित
Briddha-with-youthसुमन पन्त
कुन मन्दिरमा जान्छौ यात्री, कुन मन्दिरमा जाने हो ?
कुन् सामग्री पूजा गर्ने ? साथ कसरी लाने हो ……..
भित्र मधूर ध्वनिमा यो गीत बजिरहेको थियो । एकजना तन्नेरी कोठामा वृद्धा महिलालाई औषधि खुवाउँदै थिए ।  “अहिले त अलिक जाति हुनुभो” उनले भने “उहाँलाई हामीले राप्ती खोला किनारबाट ल्याएको । सामूहिक बलात्कारको सिकार हुनभएको ।”
बरण्डामा रामजी अधिकारी चामलको बोरा भित्र     लाँदै थिए । “अघि भर्खर एकजनाले दिनुभएको” अभिवादन फर्काउँदै उनले अथ्र्याए “यस्तै दानबाट चल्दैछ हाम्रो अभियान ।”
त्यहीबेला एकजना महिला आइपुगिन् । उनी पनि सहयोग गर्न आएकी रहिछन् । बुबाको तिथिका दिनमा एकदिनको भोजन प्रायोजन गर्न आएकी थिइन् । रसिद थमाउँदै अधिकारीले कृतज्ञता चढाए । महिला बिदा भइन् ।
………
हेटौंडाको वडा नम्बर ९ स्थित वनसखण्डी मन्दिरछेऊ एउटा रङ्ग खुइलिरहेको   दुईतल्ले घर छ, घर अगाडि फराकिलो आँगन छ । दिउँसो पुग्दा आँगनमा वृद्धवृद्धाहरु कोही बत्ती कात्दै थिए । कोही ऊनी बुन्दै थिए । केटाकेटीहरु होमवर्क गर्दै थिए । एउटी महिला आँगन बढार्दै थिइन् । एउटा ठूलो परिवारझैं लाग्थ्यो यो घर । मानव सेवा आश्रमको परिवारभित्र समेटिएका थिए सबैजना ।
तर, जन्मले जोडिएका होइनन् यी परिवार न रहरले जोडिएका । परिवार र समाजले छाडेपछि जोडिएका रहेछन् उनीहरु । कोही नदी किनारामा भेटिएका, कोही सडकमा भोकै सुतिरहँदा भेटिएका । “उहाँहरुको निराशालाई हामीले सम्हाल्ने कोसिश गर्दैछौं” आश्रमका अगुवा अभियन्ता एवं संयोजक अधिकारीले भने ।
परिवार र समाजको खण्डीकरणसँगै मानवीय मूल्य र आत्मीयता पनि क्षय हुुन थालेको छ । पद, पैसा र कथित प्रतिष्ठाको आत्मरतिमा मानिसले आफ्नो उत्तरदायित्व भुल्दै गएको छ । फलस्वरुप, अहिलेका मानिससित पैसा र प्रतिष्ठा छ, तर आत्मीयता बाँड्ने व्यक्तिहरुको अभाव झेल्न थालेको छ । “यस्तै अवस्था हो भने आगामी पुस्ताले आफ्नो हजुरबा, हजुरआमा भेट्न वृद्धाआश्रम आउनुपर्ने हुनसक्छ” अधिकारी भन्छन् ।
…………..
सामान्य परिचयसँगै उनले बस्न कुर्सी मगाए र समीप आइपुगे । भित्रबाट एकजना बालक खुर्रर दौडिँदै अधिकारीको काखमा लुट्पुटिन थाले । “हजुरको बाबु ?” प्रश्न पुरा नहुँदै उसको कपाल सुम्सुम्याउँदै उनले भने “मेरो आफ्नो छोराझैं हो । विचरा वेवारिसे अवस्थामा सडकमा फ्याँकिएको रहेछ । अहिले हाम्रै परिवारको सदस्य भएको छ ।” बालकले अधिकारीलाई बाबा भन्दो रहेछ अनि अधिकारीले छोरा ।
यो आश्रमको संरचना पृथक रहेछ । नत वृद्धाआश्रम नत अनाथ आश्रम । शिशुदेखि वयोवृद्धसम्मको एउटै संग्रह रहेछ यो । “त्यही भएर हामीले नाम नै मानव सेवा आश्रम राखेको” उनले थप जिज्ञासा राखिदिऊन् भन्ने भावमा सोधे “यसको स्थापनामा पनि संयोग जुरेको छ ।”
साधारणतया उमेरले पाका व्यक्तिहरु वृद्धाश्रमहरुको सेवामा लाग्छन् । कतिपयले सोच्छन्, जीवनको उत्तराद्र्धमा गर्ने काम हो मानव सेवा । तर अधिकारीजस्ता आठ युवाले आम सोचाइलाई जिते । उमेरले तीस नकट्दै, विहेवारी र रोजगारीमा स्थापित नहुँदै कल्याणकारी काममा लाग्ने उद्घोष गरे । अधिकारी अगुवा चुनिए, उनको साथमा आइपुगे अरु सातजना ।
आश्रमका अभियन्ताहरु आफैंमा मोडल हुन् । उनीहरु सबैजना कलेज तहमा अध्ययनरत छन् । तलब, भत्ता कोही लिदैनन् । आश्रमको सामान्य भोजन र विछ्यौना उनीहरुले पाउने सुविधा हो । अरु खर्च घरबाटै मगाउँछन् ।  रुपा केसी, सुमन बर्तौला, होमनाथ तिमिल्सिना, उमा भण्डारी, नारायण प्रधान, अंशु कार्की, नवराज केसी कलेज पढाइमा छन् । सीता थापाले दैनिक कार्यमा सघाइरहेकी छिन् । बैंकमा जागीरको अवसर छाडेर अभियान सम्हालेका अधिकारीले पनि एमबीएस पास गरेका छन् ।
……………….
खासमा यी युवाको मनले आश्रम खोलिहाल्ने सोच बनाएको थिएन, कल्याणकारी कुनै काम गरौं भन्ने मात्र सोचेको रहेछन् । संस्कृतिविद् डा. गोविन्द टण्डनको प्रेरणामा यो अभियान थालनी गरेका रहेछन् । “आफूलाई जन्मदिने, हुर्काइबढाइ गर्ने आमाबुबा, आफ्नो रगतबाट जन्मेका सन्तानलाई सडकमा बेवारिसे छोडेर पनि मान्छे मज्जाले सुत्न सकेको छ । समाजबाट मानवता र नैतिकता खण्डित हुँदै गइरहेको छ” डा. टण्डनको एउटा पुस्तकमा लेखिएको रहेछ यो कुरा । पढेर भेट्न पुगेका बखत उनको मर्मस्पर्शी कुराबाट अधिकारीको हृदय कम्पित भयो । फर्किएर आफ्ना सहपाठीसित कुरा गरे । केही दिनको तर्क—वितर्कपछि समाजसेवा थालनी गर्ने निर्णय भयो ।
यही मेसोमा उनीहरुले दुई वर्षअघि सामाजिक भावयुक्त पिकनिक गर्ने सोचाइ बनाए । सडकमै वेवारिसे जीवन बिताइरहेका १८ जनालाई समेटेर पिकनिक स्थल ल्याए । प्रमुख अतिथि तत्कालीन प्रमुख जिल्ला अधिकारी (सिडिओ) वसन्त भट्टराई बनाइए । हेटौंडा, वनसखण्डी मन्दिरमा आयोजित पिकनिक अवधिभर सडकबाट ल्याइएकाहरुलाई सरसफाइ गराए । नुहाइदिए, कपाल काटिदिए, सफा कपडा लगाइदिए । केही घन्टाभित्रै उनीहरुको रुपरंङ्गै फेरियो । नाचगान र सहभोज चल्दै गयो । समय बितेको पत्तै भएन ।
दिनभरिको रमाइलो घाम ढल्किँदै जाँदा निराशाले बाँध्न थाल्यो । आकाशमा कालो बादल मडारियो । घर जाने हतारो हुने नै भयो । यता आयोजक टोलीका साथीहरुको मन भने कुँडिन थाल्यो । आयोजकहरुको त ओत लाग्ने घर थियो । तर दिनभरि उत्साहले रमाएका “सडक आश्रितहरु” पाहुनाहरुको जाने ठाउँ त त्यही सडक थियो । “दिनभरिको उत्साह साँझ पर्दै जाँदा सेलायो, मन रोयो” उनले भने “मैले आयोजकहरु प्रत्येकमध्ये एक एकजनालाई आश्रय दिऔं भन्ने प्रस्ताव राखें । सिडिओ साप राजी हुनु भयो, तर सबैको जिम्मा लिन सम्भव भएन ।” आखिरीमा मन भारी बनाउँदै नगरपालिकाको ट्रकमा चढाएर सडकमै छोड्ने निर्णय भयो । छोडिए पनि ।
तथापि, पिकनिकको समापनसँगै केही दिनभित्रै एउटा आश्रम खोल्ने वाचा भने गरियो । पिकनिकमा बालकदेखि वृद्धसम्म सहभागी थिए । सबैजना समावेश हुनसक्ने आश्रम खोल्ने सोच बन्यो । आश्रमको नाम प्रजिअ भट्टराईले जुराए “मानव सेवा आश्रम” । युवाहरुको टोली वाचामा कटिवद्ध थिए । प्रजिअ भट्टराईको साथले ऊर्जा भरेको थियो । एउटा ग्यास सिलिण्डर, पाँच वटा थाल कचौरा, कुकर, डेक्ची, पाँच वटा म्याट (फोमको सुकुल) र तन्दा सिरानी भेला पारे । हेटौंडा, सानो पोखरास्थित एउटा घरको फ्ल्याट भाडामा लिए । सडकबाट पाँच जना बेसहारा भेला पारे । सुरु भयो मानव सेवा आश्रम ।
बेसहारा भेला पार्ने क्रम बढ्दै गयो । यो फ्ल्याटले पुगेन । २०७० भदौ एक गते हेटौंडा—९ स्थित घर भाडामा लिए ।  जहाँ अहिले तीन वर्षे बालकदेखि ९० वर्षीय वृद्धसमेतको एउटै परिवार बनेको छ ।
……………..
आज मंगलबार । रातिको ९ बज्दैछ । चिसोले स्यूस्यू बनाइरहेको छ । तर रामजी अधिकारी र सुमन बर्तौला सडकमा निस्केका छन् । बस पार्कनिर पुगेपछि एकजना बालक सडकमै सुतिरहेको देखे । “भान्जा, किन यहाँ सुतेको ? खाना खानुभयो ?” परिचितझैं बर्तौलाले सोधे “लु खाना खान हिंड्नुस् ।” पेटभरि खाएपछि बालक अलमलमा परे, यति राति खुवाउने को होलान् ? “मामा”हरुले सँगै जाने प्रस्ताव राखे । बालक “मामाघर” जान राजी भए ।
अहिले हेटौंडा नगरपालिकाका सडकलाई बेसहारामुक्त बनाउने उनीहरुको अभियानको क्रममा भेटिएका हुन् यी बालक । हरेक मंगलबार र शनिवार राति ९ बजे यी अभियन्ताहरु सडकमा निस्कन्छन् । भोकै कोही भए खाना खुवाउँछन् । सडकमा सुतिरहेका छन् भने आश्रममा ल्याउँछन् । भान्जा, आमा, बुबा, काकाजस्ता आत्मीय सम्बोधन लगाउँछन् । परिवारबाट बहिष्कृत भई सडक पुगेकाहरु धेरैको मन पग्लिहाल्छ । यो अभियानले अहिले हेटौंडा नगरपालिकाका सडकमा बेसहारा घटेका छन् ।
……………….
Briddha-with-youth.यो आश्रम अहिले विस्तृत परिवार भएको छ । दीर्घरोगी, अपाङ्ग, बालबालिका, वृद्धवृद्धा सबै छन् । आँगनमा रुपा केसी सफाइ गर्दै थिइन् । एउटी महिला ट्वाल्ल परेर हामीलाई हेरिरहिन् । “उहाँको नाम सुशीला पुडासैनी, मानसिक रोगी हुनुहुन्छ” आश्रमकी अभियन्ता अंशु कार्कीले भनिन् “सुरुमा आउँदा हामीलाई कति पिट्नुभो, कति थुक्नुभो । भनिसाध्ये छैन ।” कूल ३३ जना आश्रितमध्ये २५ जना मानसिक रोगी रहेको उनले बताइन् ।
अधिकारीसित कुरा गरिरहेको केही बेरमा सुमन बर्तौला अर्का एक सहयात्रीसहित झोला भिरेर आँगनमा निस्किए । उनीहरु विरामी एक महिलाको उपचार गराउन अस्पताल जान लागेका रहेछन् । गेट खोल्दै गर्दा एउटा बालक पनि स्कूल जान डे«ेस लगाएर तयार भए । “बाबा म गएँ” अधिकारीको हातमा म्वाइ खाँदै उनले विदा लिए “ज्ञानी भएर पढ्नू है शाश्वत ।” गेटको सामुन्ने बत्ती कातिरहेका, ऊन बुनिरहेका वृद्धवृद्धालाई हजुरबुवा, हजुर आमा म गएँ भन्दै हात हल्लाए । वृद्धवृद्धाहरुले पनि मुस्कुराउँदै मायाको हात हल्लाए । ऊजस्ता अरु दुईजना बालक र एकजना बालिका छिन् । निजी विद्यालयमा पढ्छन् । तर शुल्क पनि तिर्नुपर्छ ।
………………
यो आश्रमको संरचना र शैली हेर्दा जति सह्रानीय, उति नै योभित्र क्रन्दन र अनिश्चित निराशा पनि रहेछ । आश्रमको स्थायी आयस्रोत रहेनछ । टोलछिमेकले दिने मुठीदान र परोपकारी मनकाहरुले श्रद्धा, जन्मदिन मनाउन ल्याउने नगद, जिन्सीबाट गुजारा चलेको छ । विदेशी दात्तृ निकायले सहयोगको प्रस्ताव पनि यदाकदा ल्याउने गरेका हुन् । तर सर्तसहितको प्रस्ताव मान्नु अभियन्ताहरुको आत्माले दिँदैन । “एक पटक स्पेनिस संस्थाले सहयोग गर्ने इच्छा देखायो, तर आश्रमका सबैलाई बाइबल पढाउनुपर्ने सर्त राख्यो” उनले भने “हामीले धर्मसंस्कार लिलाम गर्न मानेनौं ।”
आश्रमको आफ्नै भवन छैन । नगरपालिकाले घरभाडा तिरिदिएको छ । हेटौंडा –९ स्थित कुखुररिनी सामुदायिक वनले आश्रमको लागि भवन बनाउन जग्गा दिएको छ । भवनको शिलान्यास भइसकेको छ । तर भवन बनाउने रकम छैन । आश्रममा रहेकाहरु धेरैजनाको नियमित उपचार गर्नुपर्ने अवस्था छ । तर औषधि किन्ने पैसा छैैन । सरकारले निःशुल्क दिने औषधिहरु दिर्घ तथा जटिल रोगीहरुको लागि काम दिँदैन ।
आश्रमका कूल ३३ जनामध्ये २५ जना मानसिक रोगी छन् । बुढेसकालमा आइपर्ने रोगको हिसाब छैन । महिनाको ५० हजार रुपैंयाँभन्दा बढी औषधिमा जान्छ । भोजन, आश्रमको प्रशासन खर्चमा कम्तिमा दुई लाख रुपैंयाँ लाग्छ । नगरपालिकाले दिने घरभाडा खर्च र व्यक्तिगत रुपमा जम्मा हुने भोजन सामाग्री पर्याप्त छैन । “आधा पेट निस्तो भात र जाउलो खाँदा पनि मन दुखाउँदैनौं” आश्रमकी अभियन्ता रुपा केसीले भनिन् “लक्ष्मी र नारायणको आशीर्वाद नै हाम्रो भोजन हो ।” अभियन्ताहरु आश्रमका वृद्धालाई लक्ष्मी र वृद्धलाई नारायण भगवानको रुप मान्छन् ।

हजुरको प्रतिकृया


कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: Comments containing abusive words or slander shall not be published.
Share this article :

No comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. मिथला दर्सन ! - All Rights Reserved
Template Modify by Creating Website
Proudly powered by Blogger