एउटै व्यक्तिबाट भएको सशस्त्र द्वन्द्व पीडित नागरिकको करोड बढी रकम ठगी प्रकरणको छानविनमा ढिलाइ हुन थालेको छ । घटना सार्वजनिक भएको तीन हप्ता वित्न लागिसक्दा पनि अनुसन्धानले दूर्तता पाउन नसकेको हो ।
फक्ताङलुङ टिस्टेट प्रालिका कार्यकारी निर्देशक सन्तवीर आङदेम्वेले कम्पनीकै कर्मचारी र नाताको नाममा किर्ते कागज खडा गरेर करिव एक करोड २२ करोड २२ लाख रुपैयाँ अपचलन गरेको घटनामा प्रहरीको अनुसन्धानले दूतता पाउन नसकेको हो ।
करोड बढी रकम ठगी गरेको अभियोगमा प्रहरीले पक्राउ गरी हिरासतमा राखिएका आङ्देम्वेको बयानका आधारमा प्रहरीले माग गरेका कागजात जिल्लास्थित सरकारी कार्यालयले दिन अटेर गरेपछि अनुसन्धान प्रभावकारी बन्न नसकेको हो ।
एक हप्ताअघि नै प्रहरीले जिल्ला प्रशासन कार्यालय, स्थानीय शान्ति समिति र नेपाल बैंकसँग सो प्रकरणसम्वन्धी कागजपत्र मागेको थियो । नेपाल बैंकले एकहप्ता बिताएर शुक्रबारमात्र प्रहरीले मागेको कागजपत्र उपलव्ध गराएको हो । कागज बुझाउन अटेर गरेका बैंकका कर्मचारीले केन्द्रको निर्देशनपछि मात्र कागजपत्र बुझाएका हुन् ।
बैंकले २२ जनाको नाममा किर्ते गरी खोलिएका खाताका चेक, पासबुक र जिल्ला प्रशासन कार्यालयको सिफारिबाट आएका दस्तखत नमूनाकार्डसहितका सम्पूर्ण कागजातहरु बुझाएपछि अनुसन्धानले केही गति लिन खोजेको प्रहरी निरीक्षक राकेश थापाले बताए ।
नेपाल बैंकसँगै कागजात माग गरिएको जिल्ला प्रशासन कार्यालयले भने ठगी प्रकरणसम्वन्धी कुनै पनि कागजात कार्यालयमा नरहेको भन्दै बुझाउन अटेर गरेको छ । ठगीसम्वन्धी सबै कागजातहरुका सक्कल प्रति नै शान्ति तथा पुनःनिर्माण मन्त्रालयमा पठाइएकाले कागजात नबुझाएको पाँचथरमा सहायक प्रमुख जिल्ला अधिकारी यज्ञप्रसाद आचार्यले बताए ।
ठगी प्रकरणका कागजातको परीक्षणका लागि नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशालामा पठाउन मगाएका कागजात जिल्ला प्रशासन कार्यालयले नबुझाएपछि अनुसन्धान प्रभावित बनेको छ ।
प्रहरी नायव उपरीक्षक दीपसमशेर राणाले विधिविज्ञान प्रयोगशालामा कागजात पठाएर मुद्दाको टुंगो तत्काल नलाग्ने बताउँदै ठगी प्रकरणको टुंगोका धैर्य गर्न पीडितहरुलाई आग्रह गर्नुभयो ।
आङ्देम्बेलाई कम्पनीका कामदार र विदेशमा रहेकाको नाममा किर्ते कागज खडा गरी शान्ति तथा पनुःनिर्माण मन्त्रालयबाट एक करोड २२ लाखबढी रकम निकालेर अपचलन गरेको आरोपमा प्रहरीले १० दिनअघि पक्राउ गरी हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।
आङदेम्वेले ससस्त्र द्वन्द्वका क्रममा तत्कालिन नेकपा माओवादीले चिया वगान वन्द गर्दा ८ करोड २२ लाख २३ हजार क्षति भएको भन्दै कम्पनीका २२ जनाको नाममा जिल्ला प्रशासन कार्यालय पाँचथरमार्फत शान्ति मन्त्रालयको शान्ति कोषमा निवदेन थिए ।
किर्ते कागज पेशेर एक करोड २२ लाख बढी रकम निकालेको भन्दै उनकै संस्थाका अध्यक्ष मनप्रसाद आङदेम्वेसहित १३ जना सेयर सदस्यले उजुरी दिएपछि प्रहरीले आङ्देम्बेलाई पक्राउ गरी जिल्ला अदालतबाट दुई पटक म्याद थप गरी अनुसन्धान जारी राखेको छ ।
आङदेम्वेले दावी गरेको रकमका लागि तत्कालिन प्रमुख जिल्ला अधिकारी डुल्लुराज बस्नेत, बाबुराम खतिवडा र अहिलेका प्रजिअ कोषहरीले सिफारिस गरेका हुन् । तीनैजनाको सिफारिसमा आङ्देम्बेले एक करोड २२ लाख रुपैयाँ निकालेका थिए । प्रत्येक व्यक्तिको नाममा ४ लाख देखि ६ लाख ५० हजारका दरले शान्ति कोषबाट प्राप्त रकम नेपाल बैंकबाट अपचलन गरे भेटिएपछि प्रहरी अनुसन्धानमा जुटेको हो ।
आङ्देम्वेले ६२ जना द्वन्द्व पीडितको झुठा विवरण पेशेर रकम लिएको पाइएको अनुसन्धानमा संलग्न प्रहरी निरीक्षक थापाले बताए । यति ठूलो रकम अपचलनमा गाविसदेखि मन्त्रालयसम्मका कर्मचारीहरु मिलेको आशंका प्रहरीले गरेको छ ।
प्रहरीले ठगी प्रकरणसँग सम्वन्धित कागजात दिन जिल्ला प्रशासन कार्यालय, नेपाल बंैक लिमिटेड र स्थानीय शान्ति समितिलाई आग्रह गरेपनि तीनैवटा कार्यालयले कागजात दिन ढिलाई अटेर गरेपछि अनुसन्धानलाई प्रभावित पार्ने षड्यन्त्र भइरहेको ठगिएका द्वन्द्व पीडितहरुले गुनासो गरेका छन् ।
No comments:
Post a Comment