बिम फुट्दा मुग्लिन पुल जोखिम - मिथला दर्सन !
Headlines News :
Home » » बिम फुट्दा मुग्लिन पुल जोखिम

बिम फुट्दा मुग्लिन पुल जोखिम

Written By Unknown on Thursday, 9 January 2014 | 23:49

पृथ्वी राजमार्गको आँबुखैरनी- मुग्लिन सडक खण्डअन्तर्गत पर्ने मुग्लिन पुलको बिम फुटेपछि दुर्घटनाको सम्भावना बढेको छ । पुलको मुग्लिनतर्फको बायाँपट्टिको बिम फुटेर ठाउँ छाड्दै गएको स्थानीय बासिन्दाले बताएका छन् । फुटेको बिम अड्याएका आठ नटबल्टुमध्ये ७ वटा फुस्किएका छन् । एउटामात्र नटबल्टुले पुल अड्याएपछि सवारी साधन आवजजावत गर्दा पुल हल्लने भएको स्थानीय विष्णु सिलवालले जानकारी दिए । 'गाडी आउँदा झोलुङ्गे पुलजस्तै हल्लिन्छ,' उनले भने । अन्य बिम अड्याएका नटबल्टु पनि फुत्कँदै जान थालेको उनले बताए ।

अघिल्लो समय मर्मत गरेको वर्ष दिनमै सकर प्लेट उप्केर पुल जीर्ण बन्दै गएको थियो । सडक डिभिजन कार्यालय दमौली र पुल आयोजनाले मर्मतसम्भारमा ध्यान नदिँदा जोखिमपूर्ण बनेको स्थानीयवासीले बताएका छन् । पुलको तीन ठाउँमा बार भत्किएको छ । पुलको सकर प्लेट चिप्लेर सवारी साधन ठोक्किन थालेपछि बार भत्केको सिलवालले बताए । भत्केको ठाउँमा काँडेतार राखिएको छ । 'गाडीमात्र होइन, पुलमा मान्छे आउजाउ गर्न पनि डरमर्दो भएको छ,' उनले भने ।

आँबुखैरनीतर्फ पुलको मुखमा राखिएको फलामको पाता उप्केर ठाउँ छाड्दै गएको स्थानीय मुस्तफा मियाँले जानकारी दिए । 'धन्न कुनै दुर्घटना हुन पाएको छैन,' उनले भने, 'दुर्घटना हुने निश्चित छ ।' प्लेट च्यातिने र उप्कन थालेपछि सवारी आवतजावत गर्दा ठूलो आवाज आउने मियाँले बताए । 'दिउँसो त आवाज खासै सुनिँदैन,' उनले भने, 'राति त चर्को आवाजले सुत्नै सकिँदैन ।' दुर्घटनाको पूर्वअनुमान गर्दै यसअघि स्थानीय एकतर्फी रूपमा मात्रै सवारी साधन सञ्चालन गरे पनि हाल उनीहरूले पनि चासो दिएका छैनन् । 'सधैं पुल कुरेर बस्ने कुरा भएन, आफ्नो काम व्यवसाय गर्नुपर्‍यो,' स्थानीय सिलवालले भने, 'हामीले मात्र चासो दिएर हँुदैन रहेछ ।' तत्काल पुल मर्मत गर्नुपर्ने स्थानीयवासीको भनाइ छ । सवारी चालकको लापरबाहीका कारण पनि पुल चाँडै भत्केको सडक डिभिजन कार्यालयका प्रमुख बेलबहादुर भुजेलले बताए । 'पुलको बिम च्यातिएको भनेपछि मैले प्राविधिकलाई हेर्न पठाएको छु,' उनले भने, 'प्राविधिक फर्केपछि मर्मतका लागि पुल आयोजनासँग अनुरोध गर्छौं ।'

करिब दुई वर्षअघि सडक विभागमार्फत राधा स्टक्चरले तीन करोड लागतमा कालोपत्रे फालेर पुलमा सकर प्लेट राखेको थियो । सकर प्लेट राखेको एक वर्ष नपुग्दै उप्कन थालेको हो । २० वर्षका लागि भन्दै सडक आयोजनाले सकर प्लेट फेरेको थियो । यसअघि निर्धारित आयुभन्दा २० वर्षअगावै पुल जीर्ण बनेपछि कालोपत्रे फालेर सकर प्लेट राखिएको हो ।

उक्त पुल भएर काठमाडौं र नारायणगढबाट पोखरालगायत दर्जनौं जिल्लामा दैनिक सयौं सवारी साधन आवतजावत गर्छन् । २०२८ सालमा निर्माण गरिएको पुल १ सय २५ मिटर लम्बाइको छ । चीन सरकारको सहयोगमा पुल निर्माण भएको थियो ।
Share this article :

No comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. मिथला दर्सन ! - All Rights Reserved
Template Modify by Creating Website
Proudly powered by Blogger