राष्ट्रपतिले दलहरूलाई आग्रह गरे 'एक वर्षभित्र संविधान र स्थानीय चुनाव’ - मिथला दर्सन !
Headlines News :
Home » » राष्ट्रपतिले दलहरूलाई आग्रह गरे 'एक वर्षभित्र संविधान र स्थानीय चुनाव’

राष्ट्रपतिले दलहरूलाई आग्रह गरे 'एक वर्षभित्र संविधान र स्थानीय चुनाव’

Written By Unknown on Wednesday, 8 January 2014 | 02:35

काठमाडौ, पुस २३ -
राष्ट्रपति रामवरण यादवले पूर्वप्रतिबद्धता अनुसार एक वर्षभित्र संविधान जारी गर्न र यस अवधिमा स्थानीय निकायको निर्वाचन गराउन राजनीतिक दलहरूलाई आग्रह गरेका छन् । संविधानसभाको निर्वाचन प्रक्रिया सम्पन्न भएको अवसरमा चियापान आयोजना गरी राष्ट्रपति यादवले यो सफलताले मुलुकको राजनीतिमा दलहरूको स्वामित्व स्थापित भएको उल्लेख गरे ।

'एक वर्षभित्र नयाँ संविधान जारी गर्ने तथा स्थानीय निकायको निर्वाचन गर्ने भनी चुनावका बेला आम मतदातासामु गरेको वचनबद्धतालाई विशेष रूपमा सम्झन नयाँ संविधानसभामा प्रतिनिधित्व गर्ने दलहरूसँग मेरो आग्रह छ,' लिखित मन्तव्य दिँदै उनले भने, 'दलहरूले आफ्ना चुनावी बाचा पालना गरेको स्थितिमै जनताले ठूलो उत्साहसाथ प्रदान गरेको अभिमतको कदर हुनेछ ।'

संविधानसभामा प्रतिनिधित्व नभएका दल, समुदाय र वर्गको भावनासमेत नयाँ बन्ने संविधानसभामा सुनिश्चित ढंगबाट समेटिने व्यवस्था गर्नेतर्फ सबैको ध्यान पुर्‍याउन राष्ट्रपति यादवले आग्रह गरे । २०६९ साल जेठ १४ गते तत्कालीन संविधानसभाको अस्वाभाविक अवसानपश्चात् अवरुद्ध हुन पुगेको सहमति र सहकार्यको राजनीतिक तथा संवैधानिक प्रक्रिया निर्वाचनको माध्यमबाट ब्युँतिएको र दलहरूको स्वामित्वमा मुलुकको राजनीति आइपुगेको उनले बताए । उनले जनताको अभिमतको कदर गर्दै सबै देशवासीका आशा-आकांक्षा, मत-अभिमत र सहमति-विमतिहरूलाई सार्वभौम संविधानसभामा उचित स्थान प्रदान गर्न आग्रहसमेत गरेका छन् । त्यस्तै अन्तरिम संविधानको मर्मअनुरूप सहमतिको सरकार गठन गरी मुलुकलाई सुशासन र स्थिर सरकार दिन उनले जोड दिए । 'संविधानसभाबाट तोकिएको समयभित्र संविधान निर्माण गर्न र जनताको चाहनाअनुरूपको समृद्ध नेपाल निर्माण गर्ने दिशामा संविधानसभामा चुनिएका दलहरूलाई सफलता मिलोस्,' राष्ट्रपतिले शुभकामना दिँदै भनेका छन् ।

पहिलो संविधानसभाबाट संविधान निर्माण हुन नसकेकामा उनले खेद व्यक्त गरेका छन् । 'पहिलो संविधानसभाबाट संविधान निर्माण हुन नसक्नु हामी सबैका निम्ति खेदको विषय थियो, तर त्यो सभा व्यर्थ भएको थिएन,' राष्ट्रपतिले भने, 'मुलुकमा गणतन्त्रात्मक शासन पद्धतिको जग बसाउने ऐतिहासिक महत्त्वको कार्य त्यही संविधानसभाबाट सम्भव भएको हो ।' उनले त्यस अतिरिक्त माओवादी लडाकु र तिनका हतियारको व्यवस्थापन गरी शान्ति प्रक्रिया सफलतापूर्वक टुंगोमा पुर्‍याउने कामलाई उपलब्धिका रूपमा लिएका छन् । 'लडाकु र हतियारको कुशल व्यवस्थापनबाट ०६२/६३ को जनआन्दोलनको भावनालाई साकार पार्ने तथा त्यसका उपलब्धिलाई संस्थागत गर्ने दिशामा पनि त्यो कालखण्डमा उल्लेख्य कार्य भएको छ भन्ने मेरो बुझाइ छ,' उनले भने ।

उपराष्ट्रपति, अन्तरिम मन्त्रिपरिषद्का अध्यक्ष तथा मन्त्रीहरू, कांग्रेस, एमाले, एमाओवादीलगायत संविधानसभामा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरू, सरकारका सचिव, सुरक्षा निकायका प्रमुख, कूटनीतिक नियोग तथा दातृराष्ट्रका पदाधिकारीहरू समारोहमा सरिक थिए । त्यस अवसरमा राष्ट्रपतिले विषम र चुनौतीपूर्ण परिस्थितिमा पनि चुनाव सफल तुल्याउने आम मतदाता, निर्वाचन आयोग, नेपाली सेना, प्रहरी र निर्वाचनमा खटिएका कर्मचारीलगायत सबैलाई धन्यवाद दिए ।

उनले निर्वाचनमा देशैभरि मतदाताहरूले दर्शाएको उत्साह र सहभागिता सबैका लागि सुखद आश्चर्य भएको उल्लेख गरे । राजनीतिक दलहरूले चुनावमा प्रदर्शन गरेको संयम, शालीन र मर्यादित आचरणले लोकतन्त्र मजबुत र परिपक्व हुँदै गएको संकेतका रूपमा लिएको बताउँदै राष्ट्रपतिले राजनीतिक दल, तिनका नेता तथा उम्मेदवारहरूलाई विशेष धन्यवाद दिए ।
Share this article :

No comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. मिथला दर्सन ! - All Rights Reserved
Template Modify by Creating Website
Proudly powered by Blogger