राष्ट्रपति डा. रामवरण यादवको ‘ध्यानाकर्षण’लाई बेवास्ता गर्दै संविधानसभाको पहिलो बैठक मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले आफैंले बोलाएकोमा शीतलनिवासले असन्तुष्टि जनाएको छ । आफूलाई वाइपास गरेकोमा असन्तुष्टि जनाएपनि संविधानसभा बैठक आहृवान भएकोमा भने राष्ट्रपति खुसी रहेको उनका सहयोगीहरुले बताएका छन् ।
राष्ट्रपतिका एक सल्लाहकारले सरकारले गरेको आहृवान संविधान र राष्ट्रपतिले गराएको ‘ध्यानाकर्षण’को मर्म अनुसार नभएको बताए । ‘निर्णय गर्ने अधिकार सरकारको थियो । सरकारले आफ्नो निर्णय गरेको छ’ उनले भने-’अब यो ठिक भयो कि भएन ? संवैधानिक छ कि छैन भन्ने अदालतले हेर्छ ।’ राष्ट्रपति र मन्त्रिपरिषद् अध्यक्ष दुबैको पक्षमा सर्वोच्चमा परेको अलग-अलग रिटमाथि सोमबार सुनुवाइ हुँदैछ । एउटा रिटमा राष्ट्रपतिले बैठक डाक्न पाउनुपर्ने माग गरिएको छ भने अर्कोमा अध्यक्षले बोलाउन पाउनुपर्ने मागदावी गरिएको छ ।
राष्ट्रपतिका सल्लाहकारहरुले सरकारले निर्णय नै नगरेर राष्ट्रपतिलाई विवादमा तान्न खोजेको भन्दै असन्तुष्टि समेत जनाएका छन् । ‘सरकार अदालतमा मुद्दा परेको छ भनेर निर्णय नै नगरी वस्ने तयारीमा थियो’ एक सल्लाहकारले भने-’राष्ट्रपतिलाई विवादमा तान्ने र बदनाम गराउने जस्तै गैरजिम्मेवार काम गर्न खोजेको देखिन्थ्यो ।’
के भनेका थिए राष्ट्रपतिले ?राष्ट्रपति डा. रामवरण यादवले मन्त्रिपरिषद् अध्यक्षलाई शीतलनिवासमै बोलाएर संविधानसभा बैठक आहृवानबारे निर्णय गर्दा अन्तराष्ट्रिय प्रचलनसँगै अन्तरिम संविधानको धारा ३६ क लाई ख्याल गर्न मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीको ‘ध्यानाकर्षण’ गराएका थिए ।
राष्ट्रपति यादवले प्रधानन्यायाधीश समेत रहेका रेग्मीलाई ‘तपाई प्रधानन्यायाधीश भइसकेको र संविधानको व्याख्या गर्न सक्ने व्यक्ति’ भएको भन्दै संविधानको मर्म र भावना अनुसार अघि बढ्न आग्रह गरेका हुन् । रेग्मीसँगको भेटपछि शीतल निवासले जारी गरेको विज्ञप्तिमा भएकिो छ-संविधानसभाको पहिलो बैठक आहृवान गर्ने आवश्यक व्यवस्था मिलाउन अन्तरिम संविधानको धारा ३६ क मा अन्तर्निहित भावना मुताविक राष्ट्रपतिबाट अन्तरिम चुनावी मन्त्रिपरिद् अध्यक्षको ध्यानाकर्षण गराउने ।’
राष्ट्रपति र मन्त्रिपरिषद् अध्यक्षबीचको भेटवार्तापछि शीतल निवासले जारी गरेको विज्ञप्तिको अंश
के छ धारा ३६ क मा ?
राष्ट्रपति कार्यालयले उल्लेख गरेको संविधानको धारा ३६ क मा संविधानसभा पहिलो बैठक आहृवानबारे केही पनि उल्लेख छैन । यो धारामा राष्ट्रपति र उपराष्ट्रपतिको काम कर्तव्यबारे उल्लेख गरिएको छ । तीन वटा उपधारा रहेको सो धारामा नेपालमा एक जना राष्ट्रपति रहने र उनी मुलुकको राष्ट्राध्यक्ष हुने उल्लेख छ । साथै सोही हैसियतमा संविधानको संरक्षण र पालना गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुने उल्लेख छ ।
अन्तरिम संविधानको धारा ३६ उद्धृत गरेर राष्ट्रपतिले मन्त्रिपरिषद् अध्यक्षलाई संविधानमा आफ्नो स्थान सुझाउन खोजेको संकेत देखिन्छ । उसो त संविधानसभा बैठक आहृवान आफ्नो जिम्मेवारी भएको भन्दै राजनीतिक दलका शीर्ष नेताहरुसँग परामर्श समेत गरिसकेका छन् ।
No comments:
Post a Comment