एमालेमा केपी र वामदेवको नयाँ गुट बनाउने तयारी महाधिवेशनअघि एमालेमा नेतृत्व हत्याउने कसरत - मिथला दर्सन !
Headlines News :
Home » » एमालेमा केपी र वामदेवको नयाँ गुट बनाउने तयारी महाधिवेशनअघि एमालेमा नेतृत्व हत्याउने कसरत

एमालेमा केपी र वामदेवको नयाँ गुट बनाउने तयारी महाधिवेशनअघि एमालेमा नेतृत्व हत्याउने कसरत

Written By Unknown on Thursday, 9 January 2014 | 16:23

नवौं महाधिवेशनको मिति तय भइनसक्दै एमालेभित्र नेतृत्व हत्याउने रस्साकस्सी शुरु भएको छ । फागुनमा गर्ने भनिएको नवौं महाधिवेशन आउन जम्माजम्मी एक महिना समय बाँकी रहँदा तीन ठूला नेताहरु अध्यक्षका आकांक्षीका रुपमा देखिएका छन् ।
CPN_UML_officeतीन नेताको रस्साकस्सी
तीन ठूला नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल र केपी ओलीबीच पार्टी नेतृत्व कसले लिने विषयमा अहिलेसम्म समझदारी बन्न नसकेपछि नेतृत्व हत्याउन पार्टीभित्र समीकरणको खेल पनि शुरु भएको छ ।
यसअघि वर्तमान अध्यक्ष खनाल र वरिष्ठ नेता नेपालले २७ वर्षसम्म पार्टीको नेतृत्व गरिसकेकाले नवौं महाधिवेशनबाट आफू अध्यक्ष हुनुपर्ने दाबी वरिष्ठ नेता केपी ओलीले गरेका छन् । उता वर्तमान अध्यक्ष खनालले पहिलो संविधानसभामा तेस्रो बनेको पार्टीलाई आफूले जीवन्त नेतृत्व दिएर दोस्रो संविधानसभामार्फत गुमेको साख फर्काउन सफल भएकाले नेतृत्वमा आफ्नो निरन्तरता चाहेका छन् ।
संविधानसभाको चुनावअघिसम्म नेता ओलीसँग नजिक मानिनु हुने अर्का नेता माधवकुमार नेपाल चुनावपछि अध्यक्ष खनालसँग नजिकिएपछि महाधिवेशनको समीकरणमा पनि प्रभाव पार्ने एमाले उच्च स्रोतले दाबी गरेको छ ।
महाधिवेशनको मितिबारे पार्टीमा अन्योल रहेका बेला नेतृत्व हत्याउन तीनै नेता निकटहरुले समीकरण निर्माणको प्रयास पनि थालेका छन् । एकजना एमाले पोलिट्ब्यूरो सदस्यका अनुसार नवौं महाधिवेशनका लागि अध्यक्ष झलनाथ खनाल, उपाध्यक्ष बामदेव गौतम र वरिष्ठ नेता माधवकुमार नेपालबीचको समीकरण बनाउने प्रयास जारी छ ।
‘ओलीजीले अध्यक्षमा दाबेदारी प्रस्ततु गर्ने संकेत पाएपछि झलनाथ खनाल संसदीय दलको नेता, माधव नेपाल पार्टी अध्यक्ष र उपाध्यक्ष गौतमलाई सरकारमा पार्टीको नेतृत्व दिने तयारीका साथ समीकरण बनाउने प्रयास भएको छ ।’ ती पोलिटब्यूरो सदस्यले भने ।

गौतम ओलीवीच समीकरणको प्रयास
पार्टीकै अर्को खेमाले भने वामदेव गौतम र केपी ओलीबीचको समीकरण निर्माणको अभियान थालेको छ । बामदेवले साथ दिएमा आफ्नोपक्षको जीत पक्का भएको भन्दै ओलीपक्षले यो समीकरण निर्माणको प्रयास गरेको बताइन्छ । तर, यो समीकरण बको अवस्थामा यसले मूर्तरुप नपाउने एमाले नेताहरु नै बताउँछन् ।
विचार विनाको गठबन्धन
अहिले भइरहेको समीकरणलाई एमालेकै केही नेताहरुले भने विचारविनाको बाँडीचुँडी खानेहरुको खेल भएको जनाएका छन् । ‘यस्ताखालका समीकरणले पार्टीका नेताहरुको हैसियतलाई बचाइराख्न काम दिन्छ । तर, पार्टीालई पुनःजीवन दिन काम दिँदैन’, एमालेका एक पोलिटब्यूरो सदस्यले सदस्यले भने, ‘पार्टीको अहिलेको हैसियतलाई अझै मजबुत पार्ने हो भने योपटक सर्वसम्मत नेतृत्व चयन हुनुपर्छ ।’
महाधिवेशन फागुनबाट सर्ने पक्का
विधानतः एमालेको नवौं महाधिवेशन फागुनभरीमा गरिसक्नुपर्छ । तर, आठौं महाधिवेशनबाटै उठाइएका मुद्दाबारे अहिलेसम्म छलफल हुन नसकेको जनाउँदै महाधिवेशनको मिति सार्नुपर्नेमा पार्टी नेतृत्वलाई दबाव परेको छ ।
अबको एक महिनाभित्र महाधिवेशन गर्न असम्भव रहेको जनाउँदै केन्द्रीय कमिटीले मितिको टुंगोका लागि स्थायी समितिलाई जिम्मेवारी दिएको छ । ‘महाधिवेशन अघि राष्ट्रिय प्रतिनिधि परिषद्को पनि बैठक बस्नुपर्ने भएकाले फागुनमा महाधिवेशन सम्पन्न गर्न कठिनाई छ’, एमाले सचिव युवराज ज्ञवालीले भने, ‘महाधिवेशनको उपयुक्त मिति तय गर्न केन्द्रीय कमिटीले स्थायी समितिलाई जिम्मा दिएकाले चाँडै मिति तय हुनेछ ।’ एमालेभित्र ओलीपक्षले महाधिवेशन फागुनमै गर्नुपर्ने अडान लिए पनि एक अबको एक महिनामा त्यो सम्भव नहुने निश्कर्षमा एमाले नेतृत्व पुगेको छ ।
स्थानीय चुनाव कि महाधिवेशन ?
१५ वर्षसम्म हुन नसकेको स्थानीय निकायको चुनाव सम्पन्न गरेपछिमात्र पार्टी महाधिवेशन गर्नुपर्ने निष्कर्शमा एमाले पुगेको छ । महाधिवेशनको बढ्ता चर्चाले स्थानीय निकायको निर्वाचन ओझेलमा पार्न नहुने भन्दै मिति सार्न दवाब परेपछि एमाले नेतृत्वले जेठ पहिलो हप्ता महाधिवेशन गर्ने तयारी गरेको छ ।
जेठ ३ को मदनआश्रित स्मृति दिवसमा उद्घाटन गर्ने गरी एमालेले महाधिवेशनको मिति तय गर्ने भएको छ । महाधिवेशनका लागि स्थान भने तय भइसकेको छैन ।
‘आठौं महाधिवेशनले उठाएका मुद्दाबारे पार्टी छलफलै भएको छैन, यदि फागुनमा महाधिवेशन गर्ने हो भने त्यो पार्टीको नभई गुरिल्लाको महाधिवेशन हुनेछ’, एमाले केन्द्रीय सदस्य घनश्याम भुसालले भने, ‘नेपाली समाज, यसको चरित्र र समाज रुपान्तरणको दिसामा पार्टीलाई लाने हो भने महाधिवेशन तयारीका लागि कम्तिमा ४ महिना आवश्यक पर्छ, फागुनमा महाधिवेशन गर्नु भनेको पार्टीलाई यथास्थितिमा राख्ने षड्यन्त्रमात्र हो ।’
Share this article :

No comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. मिथला दर्सन ! - All Rights Reserved
Template Modify by Creating Website
Proudly powered by Blogger