नेपालमा भित्रिने भारतीय वस्तु तथा सेवालाई एउटै छानामुनिबाट अवलोकन र व्यापार गराउने उद्देश्यका साथ विरगञ्जमा नेपाल-भारत व्यापार मेला आयोजना हुने भएको छ । वीरगञ्ज उद्योग वाणिज्य संघले आयोजना गर्न लागेको मेला फागुन १ देखि १० गतेसम्म सञ्चालन हुनेछ ।
नेपालसहित छिमेकी मुलुकहरुका लगानीकर्ता, उत्पादक, वितरक तथा निर्यातकर्ताहरुलाई एउटै मञ्चमा भेला गराएर उत्पादनहरुको प्रत्यक्ष अवलोकन तथा जानकारी गराउनु मेलाको मूख्य उद्देश्य रहेको छ ।
मेलामा विभिन्न औद्योगिक, पर्यटन, कृषि, साना तथा लघु उद्यम, वित्तीय संस्थाहरुका उत्पादन तथा सेवाहरुको २ सय स्टलहरु रहने बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी आयोजकले जानकारी गराएको छ ।
पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष सुरज वैद्यले नेपालमा भारतीय लगानी भित्राउन मेला महत्वपूर्ण माध्यम हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले नेपालको सबैभन्दा ठूलो व्यापारिक साझेदार भारत र नेपालबीचको आर्थिक व्यवसायिक सम्बन्ध विस्तारमा मेला कोशेढुंगा हुने धारणा राख्नुभयो ।
मेलामा ५ लाख अवलोकनकर्ता भित्राउने र २० करोड रुपैयाँबराबरको कारोबार गर्ने लक्ष्य आयोजकले राखेको छ । स्वदेशी तथा विदेशी उत्पादक, वितरक, विक्रेता तथा सर्वसाधारणलाई मेलाबाट प्रत्यक्ष लाभ पुग्ने विश्वास छ । मेलाको अवलोकनका लागि सर्वसाधारणलाई ३० रुपैयाँ र विद्यार्थीहरुका लागि २० रुपैयाँको टिकट दर निर्धारण गरिएको छ ।
No comments:
Post a Comment