राष्ट्रपतिको मुद्दा पनि रेग्मीको सँगै हेरिने, एमिकस क्युरी फेरि थप - मिथला दर्सन !
Headlines News :
Home » » राष्ट्रपतिको मुद्दा पनि रेग्मीको सँगै हेरिने, एमिकस क्युरी फेरि थप

राष्ट्रपतिको मुद्दा पनि रेग्मीको सँगै हेरिने, एमिकस क्युरी फेरि थप

Written By Unknown on Wednesday, 8 January 2014 | 19:13

संविधानसभाको पहिलो बैठक कसले बोलाउनेबारे विचाराधीन दुई मुद्दा एकैसाथ राखेर हेर्न सर्वोच्च अदालतले आदेश दिएको छ । संविधानअनुरूप मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले नै बैठक बोलाउनुपर्छ भन्ने रिटमा अन्तिम सुनुवाइ २९ गते गर्ने निर्णय गरेको भोलिपल्ट बुधबार सर्वोच्चले बैठक राष्ट्रपतिले बोलाउनुपर्छ भन्ने अर्को रिट पनि त्यही दिन पेसी तोकेको छ । न्यायाधीशद्वय सुशीला कार्की र प्रकाश वस्तीको इजलासले नेपाल बार र सर्वोच्च बारलाई एक/एक जना एमिकस क्युरी (अदालतका साथी) पठाइदिन पनि भनेको छ ।
 एमिकस क्युरी फेरि थपिए
सर्वोच्चबाटै मंगलबार रेग्मीको मुद्दामा सुनुवाइपछि आदेश गर्दा पनि नेपाल बार र सर्वोच्च बारबाट दुई/दुई एमिकस क्युरी पठाइदिन आग्रह गरेको थियो । दुवै रिटमा गरी अब एमिकस क्युरीको संख्या ६ पुगेको छ ।
एमिकस क्युरी भनेको मुद्दाको पक्ष/विपक्षमा प्रतिनिधित्व नगरी विषयवस्तु र न्यायदर्शनबारे अदालतलाई राय दिने कानुनविद् हुन् । अब अन्तिम बहस सुरु भएपछि एमिकस क्युरीले मात्रै कम्तीमा एक दिन समय लिनेछन् । संविधानसभाको पहिलो बैठक बस्न त्यसै पनि ढिला भइरहेका बेला अदालतले अनावश्यक रूपमा एमिकस क्युरी थपेर मुद्दालाई थप लम्ब्याउन खोजेको टिप्पणी कानुनविद्हरूले गरेका छन् । ‘राष्ट्रपति र मन्त्रिपरिषद् अध्यक्ष दुवैका तर्फबाट परेका मुद्दामा पक्ष/विपक्षमा बहस गर्नेहरू नै पर्याप्त छन्,’ नेपाल बारका पूर्वमहासचिव रमण श्रेष्ठले भने, ‘तिनले नै धेरै समय खाँदैछन्, त्यसमाथि ६-६ जना एमिकस क्युरी थपिए, तिनले पनि दिन खाने भए ।’
निर्वाचन आयोगले चुनावको अन्तिम परिणाम राष्ट्रपतिलाई पुस १८ गते बुझाइसकेको छ । संविधानअनुसार यसरी परिणाम बुझाएको मितिले २१ दिनभित्र संविधानसभाको बैठक बोलाइसक्नुपर्ने छ । अदालतलाई यो जानकारी हुँदाहुँदै २९ गतेसम्मका लागि मुद्दा सार्नुपर्ने कारण नभएको भन्दै श्रेष्ठले पहिलो बैठक बोलाउने मिति झनै अनिश्चित बन्दै गएको टिप्पणी पनि गरेको कान्तिपुर दैनिकमा खबर छ ।
अन्तिम सुनुवाइ हुने भनिएको २९ गते बैठक बोलाउने म्यादको ११ औं दिन पुग्नेछ । बहस गर्नेहरू धेरै हुँदा २९ गते सुरु भएर लगातार सुनवाइ नभए बाँकी दस दिनभित्र छिनोफानो हुन मुस्किल पर्नेछ ।
Share this article :

No comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. मिथला दर्सन ! - All Rights Reserved
Template Modify by Creating Website
Proudly powered by Blogger