अतिक्रमित घर टहरा हटाइए, संरचना हटाउँदा खानेपानी र विद्युत् अवरुद्ध - मिथला दर्सन !
Headlines News :
Home » » अतिक्रमित घर टहरा हटाइए, संरचना हटाउँदा खानेपानी र विद्युत् अवरुद्ध

अतिक्रमित घर टहरा हटाइए, संरचना हटाउँदा खानेपानी र विद्युत् अवरुद्ध

Written By Unknown on Thursday, 9 January 2014 | 20:34

फलेवास (पर्वत), पुस २५ गते । पोखरा–बागलुङ राजमार्गको पर्वतखण्डमा सडक अतिक्रमण गरी बनाइएका डेढ सय घर, टहरा हटाइएको छ ।

    सडक अतिक्रमण गरी बनाइएका घर टहरा हटाउने क्रममा तीन दिनमा डेढ सय संरचना हटाइएको हो । सडक विभागले पर्वतको सदरमुकाम क्षेत्रमा रहेका सयभन्दा बढी संरचना हटाएको छ भने मालढुङ्गामा अतिक्रमण गरी बनाएका ५० जति घर टहरा सर्वसाधारण आफँैले हटाएका छन् ।

    कुस्मा बजारको शिवालयचोकदेखि दुर्लुङचोकसम्मका सबै संरचना हटाइसकिएको जिल्ला ट्राफिक प्रहरी प्रमुख विकास तिमिल्सिनाले बताउनुभयो ।

    “कुस्मा बजारको मुख्य बजार क्षेत्रका सबै संरचना हटाइएको छ” उहाँले भन्नुभयो । जिल्ला प्रशासन कार्यालय, ट्राफिक कार्यालय, प्रहरी कार्यालय र स्थानीयवासीको अनुरोधमा सडक विभागले सामुदायिक प्रहरी कुस्माको भवनको पर्खाल भत्काएर संरचना हटाउने अभियान सुरुवात गरेको थियो ।

    डिभिजन सडकले राजमार्गको दुवै किनारमा सडकको केन्द्र रेखादेखि १५–१५ मिटरको दूरीमा रहेका घर टहरा र अन्य संरचनाहरु हटाइएको छ । पोखरा–बागलुङ राजमार्गमा पर्वतको नयाँपुलदेखि मालढुङ्गासम्म २५ किलोमिटर क्षेत्र पर्छ ।

    पर्वतखण्डभित्र सबै क्षेत्रमा अतिक्रमण गरिएका संरचना भत्काउने ट्राफिक प्रहरी प्रमुख तिमिल्सिनाको भनाइ छ । सडक डिभिजनले संरचना हटाउन थालेपछि अतिक्रमण गरी बनाएका संरचना आफँै हटाउने काम सुरु भएको छ । कुस्माको शिवालयचोक क्षेत्रमा संरचना हटाएपछि दुर्लुङचोकलगायतका क्षेत्रमा आफँै हटाइएको थियो ।

    मालढुङ्गामा रहेका सबै छाप्रा सर्वसाधारण आफँैले हटाइसकेको ट्राफिक प्रहरी प्रमुख तिमिल्सिनाले बताउनुभयो । “मालढुङ्गा क्षेत्रमा सबै संरचना हटिसकेका छन्” उहाँले भन्नुभयो, “अब कास्कीको नयाँपुलदेखि कुस्मासम्म र अर्मादी क्षेत्रमा पनि सर्वसाधारणले आफँै नहटाएमा क्रमशः हटाउँदै जान्छौँ ।”

    सदरमुकाम कुस्मा बजार क्षेत्रमा संरचना हटाएको सडक विभागले आजदेखि कुस्माबाट मालढुङ्गासम्मको क्षेत्रमा अतिक्रमण गरी बनाइएका संरचना हटाउने तयारी गरेको छ ।

    कास्कीको नयाँपुलदेखि डिमुवा, पातिचौर हुँदै कुस्मासम्मका ठाउँमा पनि रेखाङ्कनको काम भइरहेको पश्चिमाञ्चल सडक डिभिजन प्रमुख प्रभातकुमार झाले बताउनुभयो ।

    सडक विभागले बिहीबारदेखि नै कुस्मा बजारका पक्की घरको पनि रेखाङ्कन सुरु गर्ने जानकारी दिएको छ ।

    सडक अतिक्रमण गरी बनाइएका पक्की घरको लगत लिन जिल्ला नापी कार्यालय पर्वतको प्राविधिक टोली परिचालन गर्न लागिएको हो ।

    नापीको टोलीले रेखाङ्कन गरेपछि अतिक्रमण गरी बनाइएका घर पनि डोजर प्रयोग गरी हटाउने योजना विभागको छ । यसअघि संरचना हटाउनका लागि घरधनीलाई अनरोध गरिने र नहटाएमा डोजर प्रयोग गरी हटाउने डिभिजन प्रमुख झाले बताउनुभयो । “अब अतिक्रमण गरी बनाएका पक्की घर पनि हटाउँछौँ” उहाँले भन्नुभयो ।

खानेपानी, विद्युत् र टेलिफोन अबरुद्ध

    सडक अतिक्रमण गरी बनेका संरचना हटाउने र सडक फराकिलो बनाउने क्रममा पर्वतको सदरमुकाम कुस्मा बजारमा खानेपानी, विद्युत् र टेलिफोन सेवा पटकपटक अवरुद्ध भएको छ ।

    अतिक्रमित संरचना हटाउने खानेपानीको पाइप झिकिएको छ भने टेलिफोनका लाइन चुँडिएका छन् । संरचना हटाउने क्रममा जोखिम हटाउनका लागि विद्युत् अवरुद्ध गरेर काम हुँदै आएको छ ।

    सडक विस्तारका क्रममा शिवालयचोक, दुर्लुङचोकमा पानीको मुख्य वितरण पाइपलाइन अवरुद्ध भएको छ । धेरै ठाउँमा मुख्य पाइपलाइन बिग्रिएको र घरघरमा वितरण गरिएका शाखा र व्यक्तिगत लाइन धेरै बिग्रिएका कारण नियमितरुपमा पानी वितरणमा समस्या भएको शिवालय कुस्मा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले जनाएको छ ।

    “समस्या भएका ठाउँमा मर्मत गर्दै वितरणको व्यवस्था मिलाएका छाँै” समितिका अध्यक्ष तारानाथ शर्माले भन्नुभयो, “अवरोध भएकाले मागबमोजिम खानेपानी उपलब्ध गराउन कठिनाइ भएको छ” पाइपलाइन बिग्रँदा शिवालयचोक, दुर्लुङचोक, प्रगतिचोकदेखि लोकतन्त्रचोकलगायतका क्षेत्रमा पानी वितरणमा समस्या आएको छ ।

    एक÷दुई दिनमा मर्मतको काम सकेर नियमित रुपमा मागबमोजिम पानी उपलब्ध गराउने अध्यक्ष शर्माले जानकारी दिनुभयो ।

    यसैगरी धेरै ठाउँमा व्यक्तिगत टेलिफोन लाइन पनि अवरुद्ध भएका छन् । अवरुद्ध भएका टेलिफोन लाइन जडान गर्न केही दिन लाग्ने नेपाल टेलिकम पर्वतका प्राविधिक प्रमुख केशव भुसालले बताउनुभयो ।

    मुख्य लाइनमा अवरोध नगर्न भनिएकाले धेरै समय अवरोध नहुने उहाँको भनाइ छ । सडकमा परेका टेलिफोनका पोल कार्यालयले नै छिट्टै व्यवस्थापन गर्ने जनाएको छ । रासस


Share this article :

No comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. मिथला दर्सन ! - All Rights Reserved
Template Modify by Creating Website
Proudly powered by Blogger