एमालेले समानुपातिकतर्फबाट सभासद बनाएपछि चर्चामा रहेकी विराटनगरकी राज्यलक्ष्मी गोल्छा निर्वाचन आयोगको प्रमाणपत्र बुझ्न विहीबार बल्खुमा आइनन् । एमालेले विहीबार केन्द्रीय कार्यालय बल्खुमा गरेको प्रमाणपत्र वितरण कार्यक्रममा उनी उपस्थित नभएकी हुन् ।
प्रमाणपत्र वितरण कार्यक्रममा उनको नाम लिइए पनि उनी उपस्थित भइनन् । एमाले स्रोतका अनुसार गोल्छा पारिवारिक कारण जनाउँदै प्रमाणपत्र वितरण कार्यक्रममा नआएकी हुन् । दोस्रो जनआन्दोलनताका जनाधिकार प्राप्तिका लागि रगत बगाएकी रामकुमारी झाँक्री र राजेन्द्र राईजस्ता युवालाई नपारी पार्टीमा कुनै योगदानै नदिएकी राज्यलक्ष्मीलाई पारेको भन्दै एमाले युवावृत्तमा तीव्र असन्तुष्टि देखिएको थियो ।
एमालेलाई चन्दा दिएर समानुपातिक सभासद बनेका हाउजिङ व्यवसायी इच्छाराज तामाङ ठाँटिएर प्रमाणपत्र बुझ्न बल्खु पुगेका थिए । राजधानी दैनिकका मालिक महेन्द्र शेरचन भने किरियापुत्री बसेका कारण प्रमाणपत्र बुझ्न बल्खु पुगेनन् । व्यवसायी तामाङ र शेरचनको चन्दा पार्टीको खातामा जम्मा भए पनि राज्यलक्ष्मीको पैसा पार्टीको खातामा नआएपछि एमालेभित्रै उनी खटपटको विषय बनिरहेकी छन् ।
नेकपा एमालेले समानुपातिकतर्फबाट विजयी सभासदहरुलाई विजयी भएको प्रमाणपत्र दिएको छ । पार्टी केन्द्रीय कार्यालय बल्खुमा विहीबार आयोजित कार्यक्रममा एमालेले समानुपातिकतर्फका ८४ जना सभासदलाई प्रमाणपत्र वितरण गरेको हो ।
समानुपातिकतर्फको सभासद चयनमा देखिएको विबादलाई सम्वोधन नगरी एमालेले विजयीहरुलाई प्रमाणपत्र वितरण गरेको हो । निर्वाचन आयोगले एमाले सभासदलाई बाँड्न दिएको प्रमाणपत्र एमालेले कार्यक्रम गरेर वितरण गरेको हो ।
समानुपातिकतर्फ सभासद भएपछि विवादमा तानिएर सबैभन्दा चर्चामा रहेकी गोल्छा आउने नआउने विषयले बल्खु ताते पनि उनी उपस्थित नभएकी हुन् । एमालेलाई ४ करोड बढी चन्दा दिएर सभासद बनेको आरोप खेपिरहेकी गोल्छा सोही आरोपको प्रतिरोध गर्न नसकेर या अन्य कारणले प्रमाणपत्र बुझ्न नआएबारे एमालेले केही बोलेको छैन ।
प्रमाणपत्र वितरण कार्यक्रममा एमाले अध्यक्ष खनाल, वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव ईश्वर पोखरेल, सचिवहरु शंकर पोखरेल, विष्णु पौडेल, युवराज ज्ञवालीसहितको उपस्थिति थियो । एमालेका प्रभावशाली नेता केपी शर्मा ओली र उपाध्यक्ष बामदेब गौतम भने सो कार्यक्रममा उपस्थित थिएनन् ।
No comments:
Post a Comment