इराकमा भिख मागेको अभियोगमा तीन जना नेपाली पक्राउ परेका छन् । इराकको धूक जिल्लास्थित कुर्दिस्तान क्षेत्रमा रहेको अल उत्रुस कम्पनीमा सफाइ मजदुरको रुपमा कार्यरत रहेका तीन जना नेपालीलाई अगष्ट ३ मा स्थानीय प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेको झण्डै ६ महिनापछि मात्र परराष्ट्र मन्त्रालयलाई जानकारी आएको छ ।
जाखो सहरको सडकमा भिख माग्दै गरेको अवस्थामा पक्राउ परेको भन्दै इराकी विदेश मन्त्रालयले यसबारे पाकिस्तानस्थित नेपाली दुतावासलाई जानकारी दिएको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ । पक्राउ पर्नेमा कमल तामाङ, डिल्लीबहादुर बिक र अर्का विक थरका युवक रहेका छन् । उनको स्पष्ट नाम खुल्न सकेको छैन ।
उनीहरुलाई सम्बन्धित कानूनको धारा ३९० क्यु ए अन्तरगत पक्राउ गरिएको बिदेश मन्त्रालयले जनाइएको छ । काम नपाई अलपत्र परेका उनीहरुले सडकमा बसेर भिख मागेको हुनसक्ने अनुमान गरिएको छ । इराकको कुर्दिस्तान क्षेत्रमा मात्रै झण्डै १८ हजार नेपाली कार्यरत रहेको अनुमान गरिएको छ ।
इराकमा अमेरिकी सेनाको प्रवेशपछि नेपालीहरु रोजगारीका लागि इराक जान थालेको भएपनि सन् २००४ मा त्यहाँ १२ नेपालीको सामूहिक हत्या भएपछि नेपालले इराक जान प्रतिबन्ध लगाउँदै आएको छ । औपचारिकरुपमा इराक जान प्रतिबन्ध भए पनि दुबई लगायतका मुलुक हुँदै सेटिङ मिलाएर नेपालीहरु रोजगारीका लागि इराक जाने गरेका छन् ।
No comments:
Post a Comment